हलमा लाग्यो ‘अदृश्य’, चौथो सातामा ‘बगान’

नेपालभ्युज

हलमा लाग्यो ‘अदृश्य’, चौथो सातामा ‘बगान’

काठमाडौं । आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आएको छ ।

प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत कलाकार मुख्य भूमिकामा छन् ।

अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । उनले भने, “सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचित्र कम बन्ने गरेका छन् । एकै कथावस्तु भएको भन्दा पनि यस चलचित्रबाट फरक विषय र प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नोस्वरूप तयार गरेको छु ।”

यसै चलचित्रमार्फत निर्देशन प्रारम्भ गरेका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुति दिएको बताए । उनका अनुसार चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे र प्रतीक भुजेललगायतले अभिनय गरेका छन् ।

चलचित्रमा राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायाङ्कन, विशाल पौडेलको सङ्गीत सिर्जना, शिशिर खातीको नृत्य निर्देशन, मुकेश शाहको पाश्र्व सङ्गीत सिर्जना तथा निशान घिमिरेको रङ संयोजन रहेको छ ।

त्यस्तै, चौथो सातामा चलचित्र ‘बगान’ प्रदर्शन भइरहेको छ । पूर्ण पारिवारिक विधामा तयार पारिएको चलचित्रमा एकल आमाको कथालाई प्रमुख विषय बनाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत निर्देशक बनेका छन् ।

चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved