काठमाडौं । पृथ्वीको पूर्वी–पश्चिमी भाग जोड्ने एवम् समुन्द्री यातायात र परिवहनको घाँटी मानिएको स्वेज नहर क्षेत्रलाई इजिप्ट सरकारले थप व्यवस्थित बनाउने भएको छ ।
इजिप्ट सरकारले स्वेज नहर व्यवस्थित गर्न ‘एस् सि जोन इस्थिमार’ भनिने संयुक्त स्टक कम्पनी स्थापना गर्न स्वेज नहर आर्थिक क्षेत्र प्राधिकरणलाई अधिकार दिएको हो ।
इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले कम्पनी स्थापना गर्ने कदमलाई स्वीकृति दिएको इजिप्ट सरकारले जनाएको छ ।
कम्पनीले एससीजोनको पूर्वाधार सञ्चालन गर्न स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य र साझेदारी गर्नसक्ने बताइएको छ । इजिप्ट सरकारले गत जुन महिनामा उद्योग र नौसेना सेवाको लगानीका लागि स्वेज नहर होल्डिङ कम्पनीलाई निर्माणको जिम्मेवारी दिएको थियो । जसको मुख्यालय इस्माइलियामा छ ।
अगस्ट २०१५ मा स्थापित एस् सि जोन स्वेज नहर ४६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । स्वेज नहरको किनारमा छ वटा ठूला बन्दरगाह र चारवटा औद्योगिक विकास क्षेत्रहरू छन् ।
स्वेज नहर एक महत्ववपूर्ण व्यापार मार्गको रूपमा रहेको छ जसले विश्वव्यापी वाणिज्य र पेट्रोलियम पदार्थको व्यापारलाई सहज बनाउँछ । यसको अवरोधले विश्व व्यापारमा बाधा पुग्नेछ भने पेट्रोलियम पदार्थको मूल्यमा असर गर्छ ।
Facebook Comment
Comment