‘ब्लू बस’बारे बहस– श्रमजीविलाई उपेक्षा गरेर महिलालाई मात्रै निःशुल्क किन ?

रवि भन्छन् - सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने सपना देखेर सुरुआत गरेको हुँ

नेपालभ्युज

‘ब्लू बस’बारे बहस– श्रमजीविलाई उपेक्षा गरेर महिलालाई मात्रै निःशुल्क किन ?

काठमाडौं। निलो रङ्गको बस बिहान ७ बजे शक्तिखोरबाट छुट्छ। पहाडी इलाकाबाट चेपाङ समुदायका महिला तल झर्न समय लाग्ने भएकाले बाटोमा सुस्तरी अघि बढ्छ। किनकि, बाटोमा भेटिएका महिला यात्रुलाई चढाउनुछ।

बस जुटपानी–क्लब चोक–पदमपुर हुँदै भोजाड निस्कन्छ। यात्रुहरूलाई चढाउँदै र ओराल्दै विशाल चोक–राजस्व कार्यालयबाट घुमेर बस भरतपुर अस्पतालको गेट पुग्छ। त्यहाँबाट मोडिएर चौबिसकोठी पुग्छ। त्यसपछि बसले एकपटक रिङ रोड घुम्छ।

आँपटारीबाट देवघाट हुँदै भित्री बाटो भएर ठिमुरा निस्किने छ। रामनगर–आँपटारी–बाइपास रोड–अस्पताल रोड हुँदै पुलचोक पुग्छ।

पुलचोकबाट बस शिवघाट–जेम्स वर्ल्ड फनपार्क हुँदै धर्मचोक–चौबीसकोठी–अस्पताल रोड हुँदै फेरि भरतपुर अस्पतालको गेटमा पुग्छ। त्यहाँबाट बस शक्तिखोर फर्कन्छ, तर केही परसम्म फरक बाटो भएर।

भरतपुर अस्पतालबाट जिल्ला समन्वय समितिको कार्यालय हुँदै हाकिमचोक निस्किने बस केन्द्रीय बसपार्क चोक पुग्छ। मालपोत चोकमा अस्पताल आसपासका महिला चढेपछि विशाल चोक–पदमपुर–खोलेसिमल–क्लब चोक–जुटपानी हुँदै शक्तिखोर फर्केर बस रोकिनेछ।

बसमा जीपीएस जडान गरिएकोले जहाँ-जहाँ पुग्छ, लोकेसनअनुसार बसले ठाउँको नाम बताउँछ। कुन ठाउँ आउँदैछ भनेर पनि सिस्टमले नै बताउने छ।

यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनमा चलाएको ब्लु बस गुड्ने रुट हो। यो रुटमा चल्ने बसमा महिला यात्रु मात्रै चढ्न पाउनेछन् र उनीहरूले बस भाडा तिर्नुपर्दैन।

आफू दोस्रोपटक सांसद निर्वाचित भएको १०० दिन पूरा भएको अवसरमा १०० जनालाई रोजगारी व्यवस्था गर्न लागेको भन्दै उनले बुधबारबाट यस्तो सेवा दिएका हुन्। रास्वपाको झन्डा निलो रङ्गको छ। त्यस्तै मिल्दोजुल्दो रङ्ग गाडीमा पोतिएको छ। यसैले बसको नाम ‘ब्लू बस’ राखिएको छ।

पहिलो चरणमा पाँच सयजना महिलाहरूको यातायात कार्ड बनाएर बसको सेवा सुरु गरिएको छ। बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुन्छ। कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ। महिलाहरूलाई दिइएको कार्डमा लामिछानेले नमस्कार गरेको तस्बिर अंकित छ।

माग र उपयोगअनुसार समन्वय गरी भविष्यमा अन्य बस पनि थप गर्ने रास्वपा सभापति रवि बताउँछन्। ‘‘एउटा जनप्रतिनिधिले सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने सपना देख्नुपर्छ। अझ सार्वजनिक सवारीमा महिलाको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्छ। देख्नुपर्छ, देखाउनुपर्छ। यसैले यो सेवा सुरुआत गरेका हौँ।’’

बसमा महिला मात्रै चढ्न पाउनेछन्। चालक र सहचालक पनि महिला राख्ने तयारी भएको उनले बताए। अहिलेका लागि भने महिला चालक उपलब्ध भइनसकेका कारण बस पुरुष चालकले नै चलाएका छन्।

समाजमा भएका स्रोतहरू, मान्छे, संघ-संस्था, डोनरहरूलाई परिचालन गरेर, शुभचिन्तकहरूको साथ लिएर बस सेवा सञ्चालनमा ल्याएको रविले बताएका छन्।

‘फ्री’ सेवाकाे पनि आलोचना

ब्लू बस सेवा सुरु भएलगतै सामाजिक सञ्जालदेखि बौद्धिक जमातसम्मबाट आलोचना हुन थालेको छ। सामाजिक सञ्जालमा राखिने रास्वपा सभापति रविका हरेकजसो पोस्टमा सकारात्मक प्रतिक्रिया दिँदै आएकाहरूले पनि यस विषयमा भने महिलालाई मात्रै चढाउनु व्यावहारिक नहुने भन्दै आलोचना गरेका छन्।

कतिपयले महिला, आमा, दिदी र बहिनिलाई निरीह कमजोर र दरिद्र हुन् भनेर देखाउन खोजिएको समेत आरोप लगाएका छन्। उनीहरूले भनेका छन्, ‘‘सक्छौ सबैलाई निःशुल्क गर। सक्दैनौ महिलालाई मात्र निःशुल्क नगर।’’

कतिपयले महिलालाई असक्षम र कमजोर देखाएको भन्दै आलोचना गरेका छन्। फेसबुकमा स्ट्याटस लेख्दै एमाले महासचिव शंकर पोखरेलले ‘यसले हामी कता जान खोज्दैछौं’ भन्ने प्रश्न उब्जिएको उल्लेख गरेका छन्।

भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको उनले आरोप लगाएका छन्।

‘‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे। जबकि, अहिले युवाहरूको ठूलो सङ्ख्या रोजगारीका सिलसिलामा विदेसिएका बेला ठूलो सङ्ख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’’

उनले लेखेका छन्, ‘‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्? जिज्ञासा उठ्नु स्वाभाविक हो।’’

लेखक सुमिना केसीले पनि फेसबुकमा लेख्दै ‘महिला निःशुल्क अनुदान गर्ने चिज पनि होइन’ भनेर टिप्पणी गरेकी छिन्। उनले भनेकी छिन् ‘‘महिलाको निम्ति भनिएको त्यो निःशुल्क बसचाहिँ अत्यन्तै विपन्न श्रमजीवी मान्छेहरूको निम्ति उपयोगी हुनसक्छ ! त्यसमा महिला पुरुष जो पनि पर्न सके। सञ्जालीय हिरोइज्मको पराकाष्ठा।’’

सरकारले गर्ने काम व्यक्तिले गरेर वाहीवाही लुट्ने नियतले धेरै कुरा भइरहँदा त्यस्तै गर्न बस सञ्चालन गरिएको प्राध्यापक राम लोहनी बताउँछन्। उनले भनेका छन्,  ‘‘त्यस क्षेत्रमा कम्तीमा यस्ता बस कतिवटा चाहिन्छ भन्ने अध्ययन गरेर हो कि, स्टन्टको लागि आएको नमुना मात्र हो ?’’

नमुना विद्यालयदेखि भ्यानसहितको चिकित्सकीय टोली

महिलाहरूका लागि निःशुल्क बससँगै रविले, स्वास्थ्य बिमा, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच, नमुना विद्यालय निर्माणलगायत घोषणा गरेका छन्।

रविले निर्वाचन जितेको १०० दिनको अवसरमा गरिब तथा विपन्न नागरिकका लागि ५ लाख बराबरको स्वास्थ्य बिमा, ६५ वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धा र अशक्तलाई घरमा नै गएर स्वास्थ्य जाँच गर्ने एक भ्यान सहितको चिकित्सकीय टोली पनि बनाएका छन्।

एक जना एमबीबीएस चिकित्सक सहितको यस्तो टोलीले हरेक दिन विभिन्न टोलमा पुगेर स्वास्थ्य जाँच गर्ने तथा अस्पतालसम्म लैजानका लागि सहयोग गर्ने र आवश्यक स्वास्थ्य सल्लाहसमेत दिने रविले बताए। विदेशमा रहेका १०० जनालाई नेपालमा रोजगारी दिने कार्यक्रमहरू सुनाए।

रविले विदेशमा रहेका नेपालीलाई स्वदेशमा नै कामको अवसर दिन विभिन्न निजी संघ-संस्थाहरूसँग कर्मचारी आवश्यकताको माग गरेर त्यसलाई सार्वजनिक गरेका छन्।

अहिले एक सय जनालाई विभिन्न संस्थामा रोजगारी दिने भनेर उनले विज्ञापन गरेका छन्। विभिन्न स्वदेशी तथा विदेशी पत्रिकामा विज्ञापन दिएको दाबी गरेका लामिछानेले उनीहरूलाई निःशुल्क रूपमा नेपाल ल्याएर मासिक ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म तलब दिने भनिएको छ।

कालिका नगरपालिकाको चतुर्मुखी मावि र भरतपुर १ को रामनगर माविको कक्षा ११ र १२ लाई नमुना विद्यालय बनाउने कार्यक्रम पनि उनले घोषणा गरेका छन्।

यी विद्यालयमा पढ्ने विद्यार्थीलाई काठमाडौंको बुढानीलकण्ठ र पोखराको गण्डकी बोर्डिङमा पढ्नेसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्य आफूले लिएको लामिछानेले बताए।

उनले निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालय (१–७)को स्तरोन्नति गर्ने र कक्षा १२ सम्म आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरे।

हरेक चार महिनामा विभिन्न सरोकारवालाहरूलाई राखेर सार्वजनिक सुनुवाइ गर्ने र पहिलोपटक भदौ १० गते यस्तो कार्यक्रम राखिएको लामिछानेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved