काठमाडौं। कोसी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ। सर्वोच्चको अदालतको आदेशसँगै कांग्रेसका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार बिहान गठबन्धनमा छलफल भएको हो।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला छलफल गरेका हुन्।
सरकार गठनका लागि ९३ सदस्यीय कोसी प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक हुन्छ तर गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन्।
शनिबारको छलफलमा पनि कोसीमा नयाँ सरकार गठनबारे विभिन्न विकल्पमा छलफल भएको छ।अहिलेको राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था देखिँदैन । यस्तो अवस्थामा राप्रपालाई विश्वासमा लिन कांग्रेस–माओवादीको प्रयास जारी छ।
राप्रपालाई विश्वासमा लिने, सभामुख बाबुराम गौतमले राजीनामा दिनेलगायतका विकल्पमा पनि शीर्ष नेताबीच छलफल भएको छ।
एमालेका नेता हिक्मतकुमार कार्कीले असार १५ को प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि अर्को सरकार बनेको थियो। गठबन्धनले सभामुख गौतमको हस्ताक्षरसहित असार २१ मा कांग्रेस नेता थापाको नेतृत्वमा सरकार गठन गरेपछि सभामुख सरकार गठनमा सहभागी हुन नहुने भन्दै सर्वाेच्चले सरकार संवैधानिक ठहर गरेको हो।
Facebook Comment
Comment