काठमाडौं। प्रहरी प्रधान कार्यालयले कर्मचारीको वृत्ति, विकासमा तीव्रता दिँदै २ सय ८६ जना प्रहरीको बढुवा गरेको छ।
साउन ४ पछि मात्रै प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जामा ठुलो सङ्ख्यामा बढुवा सिफारिस गरेको छ।
साउन ७ सम्ममा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो।
प्रहरी कर्मचारीहरूको ज्येष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी अस्पतालको चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ।
जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । साथै प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधि (कम्प्युटरतर्फ) २ जना, स्वास्थ्य उप–समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, इन्जिनियरिङ उप–समूह अवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।
जनपद समूहतर्फ जम्मा १ सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधि÷कम्प्युटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन्।
Facebook Comment
Comment