काठमाडौं । भारतको आम आदमी पार्टी आपका सांसद राघव चड्डालाई कागले ठूँगेको तस्वीर भाइरल भएको छ । यही तस्वीरलाई लिएर भारतीय जनता पार्टी र आपबीच रमाइलो बहस समेत भइरहेको छ ।
अभिनेत्री परिणीति चोपडासँग विवाहका लागि टिकाटालो समेत गरिसकेका चड्डालाई संसद भवनबाट निस्कँदै गर्दा कागले ठूँगेको थियो । राज्यसभामा सबैभन्दा कम उमेरका सांसद चड्डा खरो बोलीका लागि पनि चर्चित छन् ।
उनलाई कागले ठूँगेको तस्वीर भाइरल भइरहँदा सत्तारुढ भारतीय जनता पार्टीले पनि व्यङ्ग गरेको छ । भाजपा दिल्लीको ट्वीटर हेन्डलबाट चड्डालाई कागले ठूँगेको तस्वीर राखेर प्रचलित उखान, “झुट बोले कौवा काटे” भन्दै थप लेखिएको छ, ‘आज तक सिर्फ सुना था, आज देख भी लिया कौवे ने झूठे को काटा !’
यो ट्वीटमा चड्डाले पनि त्यही शैलीमा जवाफ फर्काएका छन् । उनले एउटा श्लोक लेख्दै आफू मोति भएको दाबी गरेका छन् । उनले लेखेका छन्, “रामचन्द्र कह गए सिया से ऐसा कलयुग आएगा, हंस चुगेगा दाना दुनका और कौवा मोती खाएगा’ आज तक सिर्फ़ सुना था, आज देख भी लिया ।”

भाजपा दिल्ली र चड्डाको सवाल-जवाफमा समर्थक र विरोधीले जमेर कमेन्ट गरिरहेका छन् ।
Facebook Comment
Comment