फिदिम। पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे.१ ज १९४१ नम्बरको ट्याक्सी फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा दुर्घटना भएको हो । मृतकको सनाखत भएको छैन ।
इलामको दानाबारीका २६ वर्षीय अर्जुन विक, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका २६ वर्षीया इसेटिमा शेर्पा, पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरका २५ वर्षीय रोशन श्रेष्ठ, सोही स्थानका २३ वर्षीय भूपेन्द्र श्रेष्ठर र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ फावाखोलाका ३० वर्षीय सरोज मादेन घाइते भएका छन् ।
यसैगरी, दुर्घटनामा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ का २४ वर्षीय अजय लिम्बू, इलामको देउमाई नगरपालिका सिद्धिथुम्काकी १४ वर्षीया निरुता रम्तेल, कालीकोटका २२ वर्षीय सुमन खड्का, काठमाडौंको बल्खुकी २० वर्षीया मीना लिम्बू, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय राम नेम्बाङ, पाँचथरको फिदिम नगरपालिका–१० याङनामकी ४० वर्षीया सविना विक र सोही स्थानकी पाँच वर्षीया पुस्तिका विक घाइते भएका छन् । घाइतेमध्ये मीना र सविनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
-रासस
Facebook Comment
Comment