भारतले चामल निर्यातमा रोक लगायो, विश्वभर खाद्यान्न अभाव र महँगी हुन सक्ने

गत हप्ता मात्रै रसियाले युक्रेनसँगको अन्न सम्झौता नवीकरण नगरेपछि यस कदमले विश्वव्यापी खाद्य आपूर्ति संकट निम्त्याउन सक्ने चिन्ता बढाएको छ ।

नेपालभ्युज

भारतले चामल निर्यातमा रोक लगायो, विश्वभर खाद्यान्न अभाव र महँगी हुन सक्ने

एजेन्सी। आफ्नो देशमा चामलको भाउ बढ्न नदिन भारत सरकारले गैर बासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

यो घोषणा गर्दै उपभोक्ता मामिला मन्त्रालयले मुलुकबाट निर्यात हुने चामलमध्ये एक चौथाइ सेतो गैर-बासमती चामल हुने जनाएको छ ।

देशका धेरै ठाउँमा अविरल वर्षा र बाढीका कारण धान उत्पादनमा ठूलो नोक्सानी भएको छ । त्यही भएर प्रतिबन्ध लगाइएको हो ।

भारी वर्षा र बाढीका कारण पछिल्लो १२ महिनामा धानको मूल्य ११ प्रतिशतले बढेको छ । विज्ञहरूले यो निर्णयले ठूलो असर पार्ने र यसले विश्वभर खाद्यवस्तुको मूल्य बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।

गत हप्ता मात्रै रसियाले युक्रेनसँगको अन्न सम्झौता नवीकरण नगरेपछि यस कदमले विश्वव्यापी खाद्य आपूर्ति संकट निम्त्याउन सक्ने चिन्ता बढाएको छ । यसले विश्व स्तरमा गहुँको आपूर्तिमा असर पर्ने विज्ञहरुले बताएका छन् ।

रुससँग भएको खाद्यान्न सम्झौताअनुसार युक्रेनको बन्दरगाहमा अड्किएको खाद्यान्न सुरक्षित रूपमा बाहिर निकालेर खाँचोमा परेका मुलुकमा पुर्‍याइएको थियो ।

भारत विश्वमा सबैभन्दा ठूलो चामल निर्यातकर्ता हो।

विश्वव्यापी चामल आपूर्तिको करिब ४० प्रतिशत भारतबाट आउँछ। सेतो गैर-बासमती चामल एसिया र अफ्रिकाका देशहरूमा निर्यात गरिन्छ। गत वर्ष निर्यात घटाउने प्रयासस्वरुप सरकारले चामलमा २० प्रतिशत निर्यात कर लगाएको थियो भने गहुँ र चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले लामो बासमती चामललगायत अन्य प्रकारका धान निर्यात गरी अन्तर्राष्ट्रिय बजारको फाइदा लिन किसानले अझै सक्षम हुने बताएको छ । वैदेशिक व्यापार महानिर्देशनालयले खाद्यान्न संकटमा परेका मुलुकमा खाद्यान्न पठाउनको लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved