यसरी प्रक्षेपण गर्‍यो भारतले चन्द्रयान-३

अगस्ट पहिलो साता चन्द्रमाको कक्षमा पुग्ने

दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पुर्‍याएको हो।

नेपालभ्युज

यसरी प्रक्षेपण गर्‍यो भारतले चन्द्रयान-३

काठमाडौं। भारतले शुक्रबार दिउँसो ‘चन्द्रयान–३’ प्रक्षेपण गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान परिषद् (इसरो)ले ‘ल्यान्डर र रोभर’सहित अन्तरिक्षमा यान पठाएको हो।

इसरोका अनुसार यानअगस्ट ५ तारिखमा चन्द्र कक्षमा पुग्ने र दक्षिणी ध्रुवमा अगस्ट २३ मा अवतरण गराउने योजना छ।

दक्षिण भारतमा अवस्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पुर्‍याएको हो। योजनाअनुरूप गयो भने चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ‘रोभर’ पुग्नेछ।

सकुशल पुगेमा चन्द्रमाको दक्षिणी ध्रुवमा रकेट पठाउने भारत पहिलो देश बन्नेछ। चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन। अहिलेसम्म पठाइएका सबै रकेट चन्द्रमाको मध्यवर्ती भागमा मात्रै ल्यान्ड भएका थिए।

इसरोका सुरुआती दुई अभियान पश्चात् यो तेस्रो हो। पहिलो सफल र दोस्रो असफल भएको थियो। अहिलेको यो रकेटलाई सन् २०१९ को चन्द्रयान-२ को फलोअप मिसनका रूपमा पनि हेरिएको छ।

यो मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङको प्रयास हुनेछ। जुन सफलता अहिलेसम्म केवल रुस, अमेरिका र चीनले मात्र हासिल गर्न सकेका छन्।

चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूला-ठूला खाडल र भीर छन्। केही खाडलमा अर्बौं वर्षदेखि सूर्यको प्रकाश परेको छैन। परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सियससम्म रहेको अनुमान छ।

त्यस्तो परिस्थितिमा प्राविधिक उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण भए पनि भारतले पठाएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले बताए।

उनले भने, “चन्द्रयान–२ मा सफलतामा आधारित प्रारूपको साटो हामीले चन्द्रयान–३ मा असफलतामा आधारित प्रारूप प्रयोग गरेका छौँ। विफल हुनबाट बचाउँदै कसरी मिसन सफल पार्ने भन्ने हामी काम गरिरहेका छौँ।’’

इसरोले गरेको प्रत्यक्ष प्रसारणका क्रममा बोल्दै सोमनाथले एलभीएम ३ ले चन्द्रयान ३ लाई पृथ्वीको कक्षमा पुर्‍याएको बताए।

उनले भने, ‘‘अबको केही दिनमा चन्द्रयान–३ पृथ्वीको कक्ष हुँदै चन्द्रमाको कक्षतिर जाने छ।’’

इसरोका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ।

सही समय र अनुकूल अवस्था भएपछि चन्द्रयानको रोभरलाई २३ अगस्टमा चन्द्रमामा अवतरण गराउने इसरोले जनाएको छ।

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो।

उक्त अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो।

पहिलो चन्द्र अभियानका लागि भारतले ७ दशमलव ९ करोड अमेरिकी डलर खर्च गरेको थियो।

चन्द्रयान–३ अभियानका लागि भारतले झन्डै ८ करोड डलर खर्च गरेको छ।

भारतको दोस्रो अभियान सञ्चालन गर्दा खर्च झन्डै दोबर भएर १२ करोड डलर पुगेको थियो।

सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन असफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved