शीर्ष नेताको बैठकमा ठाउँ नपाएपछि रवि रुष्ट

नेपालभ्युज

शीर्ष नेताको बैठकमा ठाउँ नपाएपछि रवि रुष्ट

काठमाडौं । संसदको अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको बैठकमा ठाउँ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिसाएका छन् । तीन ठूला दलले संसदको चौथो ठूलो दललाई उपेक्षा गरेको भन्दै रवि रिसाएका हुन् ।

लामिछानेले आइतबार सार्वजनिकरुपमै तीन दलको बैठकमा आफूलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । ‘संसद कुनै नेताको आफ्नो मुडमा चल्ने चीज होइन । सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हो’ लामिछानेले भने ।

‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको’ भनी विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै एमालेले गत बुधबारदेखि संसद चल्न दिएको छैन । आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग अध्यक्ष ओलीले भेटेपछि एमाले प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको थियो ।

तीन नेताको बैठकपछि नेताहरुले संसदको अवरोध खुल्ने गरी सहमति भएको बताएका थिए । तर, प्रधानमन्त्रीको जवाफपछि संसद खुल्ने ज्ञारेण्टी हुनुपर्ने सत्तापक्षीय दलहरुको शर्त र प्रधानमन्त्रीको जवाफ सुनेपछि मात्रै सदन खुल्ने वा नखुल्ने निर्णयमा पुग्ने एमालेको अडानका कारण आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved