काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने भएको छ।
शनिबार बेलुका तुइनखोला पुल नजिकै र नाम्सीमा पहिरो पन्छाएर सडक संचालन गरिए पनि तुइनखोला पुल नजिकै शनिबार राति ११ बजे पुनः पहिरो झरेर सडक पुरिएको हो ।
पहिरो पञ्छाएर सडक खुलाउन तीनवटा स्काभेटर परिचालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले आइतबार दिउँसोमात्रै आवागमन संचालन गर्न सकिने बताइएको छ ।
सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
विहीबार पनि २८ घण्टा लगातार अवरुद्ध भएपछि सडक खुलेको थियो ।
Facebook Comment
Comment