काठमाडौं। कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायी खुसी भएका छन् ।
पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै पोखराको पर्यटन व्यवसायले लय समाउन थालेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीको विश्वास छ । उनीहरूले देशको आर्थिक अवस्थालाई सुदृढ पार्न पनि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायी खुसी भएको बताए । उनले व्यवसायीले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवर्द्धनका लागि प्रयास गरेकाले पर्यटकहरूको आगमन बढेको बताए ।
ड्रागन बोट फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिक पोखरामा आएको र उनीहरूबाट अन्य पर्यटक पनि आउने वातावरण बनेको भन्दै उनले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए ।
श्रेष्ठले भने, ‘कोरोनापछि अहिले पर्यटनले लय लिएको छ, राहत महशुस गरेका छौँ । यहाँबाट नियमित उडान भर्नसके राम्रो हुने थियो । पोखराको बढी भन्दा बढी प्रवर्द्धनात्मक काम गर्न जरुरी छ ।’
त्यस्तै, होटल एसोसिएसन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटक बढ्दा व्यवसायीमा आशा थपिएको बताए । उनले पोखरामा पर्यटक बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताए ।
उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए । पोखरा विमानस्थल नियमित सञ्चालनमा आउनसके पर्यटकको कमी नहुने सुवेदीको भनाइ छ ।
त्यस्तै, गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमले पर्यटकको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गरे । उनले कोरोनापछि पर्यटक बढेको भएपनि विदेशी पर्यटकको आगमन अझै कम रहेको बताए ।
उनले भने, ‘यस्ता कार्यक्रमले पर्यटन अलि माथि आउँछ फेरि कुनै इभेन्ट नहुँदा तल झर्ने समस्या छ । अहिले ४० प्रतिशत भन्दा बढी रिकभर भएको छैन। विदेशी पर्यटकको आगमन कम नै छ । तर केही आन्तरिक पर्यटकहरू बढेका छन् । पुरानो अवस्थामा फर्किन अझै समय लाग्छ ।’
Facebook Comment
Comment