सरकारले भ्याट लगाएपछि प्याजमा कालोबजारी सुरु, मूल्य दोब्बरले बढ्यो

आलु, प्याज आयात तथा निर्यात व्यवसायीले अहिले प्याज र आलुमा १३ प्रतिशत भ्याटलाई देखाउँदै बजारमा प्याजको कालोबजारी सुरु भइसकेको बताउँछन् ।

नेपालभ्युज

सरकारले भ्याट लगाएपछि प्याजमा कालोबजारी सुरु, मूल्य दोब्बरले बढ्यो

काठमाडौं । सरकारले भ्याट लगाएको कारण देखाउँदै व्यापारी प्याज र केही तरकारीको भाउ दोब्बरले बढाएका छन् ।

सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै विशेष गरेर प्याजको भाउ आकासिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो ।

आयातकर्ता व्यवसायीले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको थियो तर अहिले थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएपछि प्याजको मूल्यमा वृद्धि भएकाले भान्छा महँगो हुने भएको छ । 

भारतबाट प्याज आयात गर्ने व्यवसायीले भन्सार बिन्दुमै भ्याट भुक्तानी गर्नुपर्ने भन्दै जेठ २१ गतेदेखि आलु तथा प्याजको आयात बन्द गरेको दाबी गरेका छन् तर बजारमा प्याजको अभाव छैन । मूल्य भने आकासिएको छ ।

कालीमाटी थोक व्यापारीहरूको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले २१ गतेदेखि आधिकारिक व्यापारीबाट बजारमा प्याज नआएको फाइदा बिचौलियाले उठाउँदा बजारमा प्याजको मूल्य महँगो भएको दाबी गरे।   

कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितिले २२ गतेदेखि दैनिक मूल्य सूचीमा प्याज समावेश गरेको छैन । कालीमाटी समितिका अनुसार असार १५/१६ गतेसम्म कालीमाटीमा प्याज प्रतिकेजी ३२/३५ रुपियाँमा कारोबार भएकामा २१ गते प्रतिकेजी ५० रुपियाँ र २२ गते ६० रुपैयाँमा किनबेच भएको थियो ।

कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५ रुपियाँदेखि १४० रुपैयाँसम्म छ ।

आलु, प्याज आयात तथा निर्यात व्यवसायीले अहिले प्याज र आलुमा १३ प्रतिशत भ्याटलाई देखाउँदै बजारमा प्याजको कालोबजारी सुरु भइसकेको बताउँछन् । नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घले आलु तथा प्याज आयात औपचारिक रूपमा बन्दको घोषणा नगरे तापनि भ्याटकै कारण आयात नगरेको जनाएको छ ।

कृषि उपजमा यसअघि भ्याट छुट हुँदै आएको नयाँ बजेटमार्फत छुट खारेज गरिएको छ । जसले गर्दा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भएर व्यवसाय गर्दै आएका व्यापारीलाई एकै पटक भ्याटमा जाँदा समस्या भएको छ ।

कालीमाटी थोक व्यापार सङ्घका अध्यक्ष गीताप्रसाद आचार्यले तरकारीजन्य वस्तुमा भ्याट लगाउनुभन्दा कर बढाएको भए आफूहरूलाई कुनै आपत्ति नहुने बताउनुभयो । तरकारीको कारोबार गर्नुपर्ने व्यवसायीहरूले अहिले व्यवसाय बचाइदिनुस् भन्दै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसमक्ष हारगुहार गरेका छन् ।

नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेल भ्याटका दरमा दुविधा भएपछि आयात नगरेको बताए । अधिकांश व्यवसायी भ्याटमा दर्ता नै नभएको समयमा भ्याट लागु हुँदा व्यवसायी र उपभोक्ता दुवै मारमा परेको उनले बताए ।

कालीमाटी तरकारी विकास समितिको तथ्याङ्क हेर्दा प्याज आयातमै भर पर्नु पर्ने अवस्था छ । सो बजारमा भित्रिने प्याजमध्ये ९८ प्रतिशत भारतबाट भित्रिएको समितिले जनाएको छ ।  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved