तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास, ४० करोड लगानी

नेपालभ्युज

तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास, ४० करोड लगानी

काठमाडौं । रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको शिलान्यास भएको छ । नगरपालिका वडा नम्बर १७ दरखसवामा ४० करोड रुपैयाँको लागतमा निजि लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको शिलान्यास भएको हो । झन्डै दुई वर्ष अघि जग्गा खरिद प्रकृया सुरु गरिएको थियो ।

पौने ५ विघा जग्गा किनेर मैदान निर्माण प्रकृया अगाडि बढाइएको छ । जग्गा थप खरिदको प्रकृयामा रहेको छ । गएको दुई साता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने कार्य सम्पन्न गरिएको छ ।

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बनाइने छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्ष भित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।

एक्स्ट्राटेक ओभल प्राली र यसका निर्देशक विनोद कुँवरले मैदान निर्माणको लागि अहिले नै रकम सुनिश्चित गरिएको बताए। एक्स्ट्राटेक ओभल प्राली र यसका निर्देशक विनोद कुँवर र चिफ अपरेटिङ अफिसर सुदिक्षा गौतमसँग यस नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व रहेको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्युट हो ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर रहेका छन् । यो क्रिकेट रंगशला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ र शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ । रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ ।

यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भुमिकामा हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved