विक्रमको निर्णायक गोलमा थ्री स्टार रेलिगेशनबाट जोगियो

नेपालभ्युज

विक्रमको निर्णायक गोलमा थ्री स्टार रेलिगेशनबाट जोगियो

काठमाडौं । विक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिबार थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १-० को रोमाञ्चक जित निकाल्दा रेलिगेशनबाट बचेको छ ।

त्रिपुरेश्वरस्थित दशथ रंगशालामा शनिबार भएको सिजनको अन्तिम खेलमा थ्री स्टारले जावालखेलमाथि जित निकाल्दा रेलिगेशन संकट टरेको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा विक्रमले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

विक्रमको यो करियरको अन्तिम खेल समेत हो । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेशनबाट बचाउन सफल भएका थिए ।

यस जितसँगै थ्री स्टार रेलिगेसनबाट जोगिएको छ । थ्री स्टारले २६ खेलमा ३२ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेसनमा परेको छ ।

२०६२ सालबाट ‘ए’ लिग खेलिरहेको एपीएफ पहिलो पटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो । उता जावलाखेलले भने हारबाट सिजनको अन्त्य गरेको छ । जावलाखेलले २६ खेलमा ३७ अंक जोड्यो । जावलाखेले चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।

लिग अन्तर्गत शनिवार नै दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले एक गोलको अग्रता उल्टाएर मनाङलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । मच्छिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्ती मगरले एक एक गोल गरे ।

मनाङका विजय श्रेष्ठले १६ औं मिनेट शुरुवाती अग्रता निकालेका थिए । खेलको ८० औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रलाई १–१ गोलको बराबरीमा ल्याउँदा ८६ औं मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रको अग्रता उल्टाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए । यस जितसँगै लिगको उपविजेता मच्छिन्द्रले सिजनको सुखद् अन्त्य गरेको छ । मच्छिन्द्रले २६ खेलमा ४५ अंक जोड्यो । मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ । मनाङले २६ खेलमा ३२ अंक जोड्यो ।

शनिवारकै अर्को खेलमा संकटा र न्युरोड टिम एनआरटीले १–१ को बराबरी खेल्दै सिजनको अन्त्य गरेका छन् । पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, खेलको ८९ औं मिनेटमा बिक्रम धिमालले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याएसँगै खेल बराबरीमा टुङ्गिएको थियो ।

यस बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ । एनआरटीले २७ खेलमा ३४ अंक जोड्दै सिजनको समापन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved