काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनाला भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन्।
अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसद्मा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकिर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरूलाई आह्वान समेत गरे।
तपाईंहरूले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङदेनको भनाइ थियो। उनले राजसंस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना र सङ्घीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दाबीसमेत गरे।
भूतपूर्व सैनिकहरूका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको अध्यक्ष लिङदेनको भनाइ थियो। उनले देश संकटमा पर्दा, हिन्दू धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरूले चुप लागेर बस्न नमिल्ने पटक-पटक दोहोर्याएका थिए।
Facebook Comment
Comment