टाउकाको मूल्य एक करोड ५० लाख तोकिएका माओवादी कमान्डर ‘कट्टम सुदर्शन’ को मृत्यु

नेपालभ्युज

टाउकाको मूल्य एक करोड ५० लाख तोकिएका माओवादी कमान्डर ‘कट्टम सुदर्शन’ को मृत्यु

भारतमा सशस्त्र संघर्ष गरिरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का पोलिटब्युरो सदस्य एवं पार्टीका दोस्रो प्रभावशाली कमान्डर कट्टम सुदर्शनको मृत्यु भएको छ।

भारतीय कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय प्रवक्तासमेत रहेका पार्टी नेता अभयले सो कुराको पुष्टि गरेका छन्। उनले विज्ञप्ति जारी गरी हृदयाघातका कारण आफ्ना नेता सुदर्शनको निधन भएको बताएका छन्।

भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले सुदर्शनको टाउकाको मूल्य डेढ करोड तोकेको थियो। उनलाई भारतीय प्रहरीले ‘मोस्टवान्टेड’ सूचीमा राखेर सर्वाधिक खोजी गरिरहेको थियो। भारतीय कम्युनिस्ट पार्टी (माओवादी) पार्टीभित्र उनलाई क. आनन्द, क. भास्कर, क. मोहन, क. वीरेन्द्र, क. टेकम, क. सुदर्शन, क. रमेश, क. महेश र क. एएनका नामले समेत चिनिने गरिन्थ्यो।

भारतीय प्रहरीका अनुसार सन् १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शन छत्तिसगढका भाजपा विधायक भीमा मांडवीको हत्यामा पनि संलग्नता रहेको आरोप छ। तेलंगानाको आदिलाबाद निवासी ६५ वर्षीय कट्टम सुदर्शनलाई भारतका धेरै भागमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोपमा विभिन्न प्रहरी चौकी र अदालतमा समेत मुद्दा लगाइएको छ।

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) भूमिगत नक्सली संगठन हो। भाकपा माले र माओवादी कम्युनिस्ट सेन्टर मिलेर सन् २००४ सेप्टेम्बर २१ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) बनेको हो । यसले १४ अक्टोबर २००४ मा पार्टी घोषणा गरेसँगै मुप्पला लक्ष्मण राव अर्थात क.‘गणपति’ यसका कमान्डर बनेका थिए।

भारत सरकारले २२ जुन २००९ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) लाई आतंककारी संगठन घोषणा गरेसँगै पार्टी प्रतिबन्ध र यसका नेताको टाउकाको मूल्य तोकिएको थियो।

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)को आन्ध्रप्रदेश, बिहार, छतिसगढ, झारखण्ड, उडिसालगायत राज्यमा प्रभाव छ। नेताहरूविरुद्ध मुद्दा र कतिपय नेताको टाउकाको मूल्यसमेत तोकिएका कारण यो पार्टीले भूमिगतरूपमा सशस्त्र संघर्ष गर्दै युद्ध जारी राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved