काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन।
आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।
नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकीर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।
सभापति लामिछानेले भने, ‘नेपाली जनताले यो भ्रष्टाचार चाँही निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएका हुन । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिन्ह नभएर होइन । यो कुरा हामीले बुझेका छौं । त्यसकारणले जतिसुकै घेराबन्दी हुन । जतिसुकै मुद्दा चल्दै गरून् । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं ।’
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुपरेको स्पष्ट पारे । उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्नेसमेत बताए।
Facebook Comment
Comment