तातोपानी नाकामा दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

नेपालभ्युज

तातोपानी नाकामा दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी

काठमाडौं। नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ। लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो। तर, नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय‍ हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरूले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन्।

पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरूका सामान आयात गर्नै छोडेका छन्। सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरूले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे। सडकको स्तारोन्नति र विस्तार हुन नसक्दा व्यवसायीहरूले वर्षेनी सास्ती भोग्नुपरेको छ।

तातोपानी क्षेत्र भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम सुरू भएसँगै सडकमार्ग जीर्ण छ। नेपाल-चीन जोड्ने नेपालको प्रमुख व्यापारिक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले सधैं ग्रसित छ। चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरोलगायतका समस्याका कारण सधैं भासिने गरेको छ। व्यवसायीहरूले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालिन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ। दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ। व्यापारीक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भएपनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालिन समस्या समाधानको उपाय खोज्न सकेको छैन।

चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवासायीहरू नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्नसमेत समस्या भएको गुनासो गर्छन्। व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउनको लागि सडक जीर्ण भएकाले असहज भइरहेको बताए। उनले सरकारले चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको बताए। उनले सडक पूर्वाधार मजबुत भएमात्रै नाका सञ्चालनमा सहज हुने बताए। उनले सडक जीर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौँ पुर्याउँदा बढ्ने गरेको बताए। भन्सारमा व्यवासायीका लागि आवश्यक सबै सुविधा सरकारबाट प्राप्त भए पनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा उनले सधैं समस्या भएको गुनासो गरे।

अर्का, व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको बताए। सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको उनले बताए। स्थानीय पालिका र व्यवसायीहरूले सरोकारवाला निकायहरूलाई सडक मार्ग स्तर उन्नतिका लागि पहल गर्न उनले आग्रह गर्दापनि अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गरे।

उनले सरकारले तातोपानी नाका जोड्ने सडक समयमा नै स्तरोन्नति गरे स्थानीयदेखि व्यवसायीहरूलाई समेत सहज हुने बताए।

त्यस्तै, तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए। उनले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँसमेत नहुने अवस्था रहेको बताए। उनले कन्टेनर बेला-बेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेकोसमेत बताए।

तोतापानी नाका पूर्णरूपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था भने दयनीय छ। तातोपानी नाका सहजरूपमा सञ्चालनमा आए पनि सडक मार्गको अवस्था नाजुक र जीर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ।

कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ। तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाई सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved