काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु जिम्मेवार हुनुपर्ने बताएका छन् । बुधवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरु बराबरी जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
उनले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरु पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताए । त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ । उनले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको बताए ।
‘अहिले जुन हामीले रणनीति अपनाइरहेका छौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, शतर्कता केन्द्रले, अथवा एउटा कुनै कार्यालयले भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्थापना भएका हुन् ति सबै निकायहरु उत्तिकै जिम्मेवार हुनुपर्यो नि । सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुपर्यो । अझ नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्यो’ उनले भने, ‘सबैले जिम्मेवारी एकअर्कामा पन्छाउने शिलशिलाले गर्दा, यसले हेर्ने हो, उसले हेर्ने हो भन्ने शिलशिलामा धेरै यस्ता अनियमितताहरु, विकृतिहरु, बेथितिहरु, भ्रष्टाचारका कुरा भएका छन् । त्यसमा सुधार हुनुपर्छ । नागरिकको भुमिका निगरानीकै कुरा हो । खबरदारीको कुरा हो । तेस्रो कुरा नागरिकहरु आफू संलग्न हुनुभएन ।’
‘भ्रष्ट गतिविधिहरु, भ्रष्ट अभ्यासहरुमा आफू संलग्न हुनुभएन । अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको अवस्था छ । नागरिक आफू सचेत हुनुपर्ने अवस्था रह्यो । खबरदारी गर्नुपर्यो । आफ्नो नजिकको स्थानीय तहमा, अथवा सरकारले गरिरहेका काम, कारबाहीको निगरानी गर्नुपर्यो । सरकारको कामको चासो राख्नुपर्यो ।’
उनले भ्रष्टाचार हुन नदिन नागरिकले राज्यको निकायहरुमा निगरानी र खबरदारी गर्नुपर्ने बताए । नागरिकहरु आफैँपनि भ्रष्ट गतिविधि र अभ्यासहरुमा संलग्न हुनु नहुने उनको भनाई छ । उनले अहिले गाउँगाउँसम्म भ्रष्टाचार विस्तार भएको उल्लेख गर्दै नागरिकहरुले स्थानीय तहले गरेका काम, कारबाहीहरुमा निगरानी र चासो राख्नुपर्नेमा जोड दिए ।
Facebook Comment
Comment