काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने घोषणा अप्रिलमै गरिसकेका छन् । यो घोषणा लागू भए बाइडेन ८२ वर्षको उमेरमा उम्मेदवार हुनेछन् भने जिते उनको दोस्रो कार्यकाल ८६ वर्षको हुँदा पूरा हुनेछ ।
अप्रिलमा एक भिडियो सार्वजनिक गर्दै उनले यस्तो दाबी प्रस्तुत गरेका थिए । उपराष्ट्रपति कमला ह्यारिसले त्यसलाई पुष्टि गर्दै एक ट्विट गरेकी थिइन् । ह्यारिसले भनेकी छन्–‘जो बाइडेनसँगै फेरि चुनाव लड्न पाउँदा गौरव लाग्छ, किनकि हाम्रा केही कार्यभार बाँकी नै छन्।’
तर, डेमोक्र्याटिक पार्टीले भने उनीहरूको घोषणालाई अनुमोदन गरिसकेको छैन। डेमोक्र्याटिक पार्टीभित्र सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा थप दुई जनालाई सम्भावित दाबेदार मानिन्छ । तीन हुन–रोबर्ट एफ. केनेडी जुनियर र म्यारिनी विलियम्सन ।
रोबर्ट फ्रान्सिस केनेडी जुनियर चर्चित केनेडी परिवारका सदस्य हुन्। उनी पूर्व राष्ट्रपति जोन अफ केनेडीका भतिजा हुन् । उनी अहिले ६९ वर्षका छन् । म्यारिनी विलियम्सन भने एक लेखिका हुन् । उनको त्यति बलियो राजनीतिक आधार देखिन्न । विलियम्सन ७० वर्षकी छन् । उनी टेक्सास राज्यकी बासिन्दा हुन् ।
राष्ट्रपति उम्मेदवार छनोट गर्न डेमोक्रेटिक पार्टीले आउँदो वर्षको फेब्रुअरीदेखि जुन महिनासम्म ककस र प्राइमरी सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । डेमोक्र्याटिक पार्टीको कसस र प्राइमरीको लागि उम्मेद्वारी घोषणा गर्ने समय अझै बाँकी नै छ । वेस्ट भर्जिनिया सिनेटर जो म्यानचिनले समेत उम्मेद्वारी घोषणा गर्ने सम्भावना छ ।
उपराष्ट्रपतिमा भने म्यासास्युचेट्स सिनेटर एलिजाबेथ ए. बारेनले जो बाइडेनको जोडी बन्ने इच्छा व्यक्त गरेकी छन् । तर, बाइडेन उम्मेदवार भएमा कमला ह्यारिस नै उपराष्ट्रपतिमा अघि बढ्ने बलियो सम्भावना छ ।
अर्कोतिर रिपब्लिकन पार्टीको प्राइमरीका लागि भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित ८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । फ्लोरिडाका गभर्नर ४४ वर्षीय रोनाल्ड डिसेन्टिसलाई रिपब्लिकन पार्टीको सम्भावित उदीयमान नेताका रूपमा चर्चा गरिँदैछ । कतिपयले गवर्नर डिसेन्टिस सन् २०२४ को राष्ट्रपतीय उम्मेद्वार बन्नुपर्ने अन्यथा आगामी चुनाव पनि डेमोक्र्याटसले नै जित्ने भन्दै सार्वजनिक अपिल गरिरहेका छन् ।
तर, गभर्नर डिसेन्टिसले भने अहिलेसम्म रिपब्लिकन प्राइमरीमा सामेल हुने घोषणा गरेका छैनन् । कतिपय डेमोक्र्याटिक रुझान राख्ने विश्लेषक नै भन्छन् कि जो बाइडेनको रहर उपयुक्त छैन । यसका दुईवटा कारण छन् । पहिलो कारण त उनको उमेर र सक्रियताको शारिरिक क्षमतास्तर नै हो । दोस्रो–उनको जारी कार्यकालको मूल्यांकन गर्दा निरासाजनक नभए पनि त्यति सन्तोषजनक रहेन । अधिकांश सर्वेक्षणले मतदातामा जो बाइडेनको लोकप्रियता घटेको देखाएका छन् ।
रिपब्लिकन पार्टीबाट फ्लोरिडाका गवर्नर डिसेन्टिस उम्मेद्वार बनेमा जो बाइडेन र कमला ह्यारिसको जोडी हार्न सक्ने सम्भावना बढ्ने छ । तर, यो जोडीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पजस्तै प्रतिस्पर्धी पाएमा फेरि जित्न पनि सक्दछ ।
तर, जो बाइडेन भने आफ्नो पहिलो कार्यकाल धेरै सफल भएको, आफ्ना केही कार्यभार बाँकी रहेको र आफू उम्मेद्वार भए फेरि जित हुने दाबी गरिरहेका छन् । उनको दाबी छ कि, आफू उम्मेदवार नहुने हो भने ट्रम्पपन्थी रिपब्लिकन हाबी हुने सम्भावना बढ्ने छ ।
‘फ्रिडम’ नाम दिइएको एक भिडियो अपिलमा बाइडेनले भनेका छन्–‘ म उम्मेद्वार नहुने हो भने ‘मागा रिपब्लिकन’ हरूले धनी मान्छेहरूको कर घटाउन सक्नेछन् । त्यो भनेको सामाजिक सुरक्षा कटौती गर्नु हो । यो कुनै गुनासो गरि बस्ने समय हैन । यो लडाइँ हो । यो लडाइँ मैले लड्नै पर्छ ।’
रिपब्लिकन राष्ट्रिय समितिकी अध्यक्ष रोन्ना म्याकडेनियल भने राष्ट्रपति जो बाइडेनका यस्ता दाबीलाई निरर्थक ठान्दछिन् । उनको भनाइ छ–‘जो बाइडेनको जारी शासनकाल उपयुक्त छैन । उनलाई फेरि जिताउने हो भने आर्थिक मन्दी र उच्च मुद्रास्फिति दर कायमै रहने छ । सन् २०२४ को निर्वाचनमा मतदाताले त्यस्तो गल्ती गर्ने छैनन् ।’
बीबीसीको एक सर्वेक्षण अनुसार ५१ प्रतिशत डेमोक्र्याट्स नै जो बाइडेन थप ४ वर्ष राष्ट्रपति बनिरहुन भन्ने चाहँदैनन् । सर्वेक्षणले यस्ता मतदाताको अनुपात भने ७० प्रतिशत देखाएको छ ।
Facebook Comment
Comment