विद्यालयका नाम नेपाली नै हुनुपर्ने, विदेशी नाम राखेमा कारबाही गर्ने मेयर बालेनको चेतावनी

कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ ।

नेपालभ्युज

विद्यालयका नाम नेपाली नै हुनुपर्ने, विदेशी नाम राखेमा कारबाही गर्ने मेयर बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यालयको नाम विदेशी राखेमा कारबाही गर्ने चेतावनी दिएको छ ।
मेयर बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेखेर महानगरको शिक्षा नियमावली स्मरण गराउँदै विद्यालयको विद्यालयको नाम र चिन्हमा एकरुपता ल्याउन निर्देशन दिएका छन् ।
महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिन्हमा एकरुपता ल्याउन लागेको हो । यसबारेमा आज मेयर बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत थप प्रष्ट पारेका हुन् ।
नयाँ नियम अनुसार विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ ।
यस्तै, समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ ।
तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ ।
कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्नेछ ।
तर यो उपनियम लागू हुनु अगाबै नियम विपरीतका शव्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्ने महानगरले जनाएको छ ।

मेयर शाहले नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गरेका छ । नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने उहाँले चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved