काठमाडौं। नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
२३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि भीम सार्कीले ७१ रन र कुशल मल्लले अविजित ७० रन बनाए। भीमले ७५ बलमा ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। कुशलले भने २८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे। कप्तान रोहित कुमार पौडेलले ४२ र कुशल भूर्तेलले ३८ रनको योगदान गरे।
मलेसियाका लागि मुहम्मद वफिक, रिजवान हेदर, विजय उन्नी र विरनदीप सिंहले १–१ विकेट लिए। पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २३५ रन बनायो।
मलेसियाका लागि कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए। अहमदले ६४ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३, ललित राजवंशीले २, तथा गुल्सन झा १ विकेट लिए।
Facebook Comment
Comment