सुर्खेत। कर्णालीमा आइतबारदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा १३ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो।
कर्णाली प्रदेश खेलकुद परिषद्को आयोजना गरेको रनिङ सिल्ड प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा हुम्लाबाहेक ९ जिल्लाका खेलाडी र प्रशिक्षक गरी झन्डै ८ सयको हाराहारीमा सहभागिता रहेको कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।
कर्णाली खेल क्षेत्रमा अग्रसर भइरहेकोप्रति मुख्यमन्त्री शर्माले आशा पलाएको बताए । ‘थुप्रै ख्यातिप्राप्त खेलाडी जन्माएको कर्णाली उर्वर भूमि रहेको छ ।’ उनले भने,‘सरकार खेल क्षेत्रको विकासमा अग्रसरता राखेको छ ।’
कर्णाली विपन्नताबाट गुज्रिएको भए पनि खेल क्षेत्रमा उल्लेखनीय विकास भइरहेको कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । ‘कर्णालीमा खेलको विकासका लागि सबैले जोड दिनुपर्छ ।’ उनले भने,‘अभावका बीचमा केही आश गर्ने क्षेत्र खेलकुद पनि हो।’
अझै पनि खेल क्षेत्रका लागि कर्णालीमा पूर्वाधारको अभाव भइरहेकाले सरकारले यतातर्फ ध्यान दिनुपर्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए । ‘कर्णालीमा खेलकुदको पूर्वाधार विकास हुन सकेको छैन् ।’ उनले भने,‘यसमा हामी सबैले जोड दिन जरुरी रहेको छ ।’
विभिन्न ६ विधामा सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा आजबाट सञ्चालन भएको सो प्रतियोगिता ५ गते सम्पन्न हुनेछ ।
Facebook Comment
Comment