राष्ट्र बैंकमा जागिर खान भनसुन लाग्दैन : पूर्वगभर्नर नेपाल

नेपालभ्युज

राष्ट्र बैंकमा जागिर खान भनसुन लाग्दैन : पूर्वगभर्नर नेपाल

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गरेका छन्।

राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताएका हुन्।

उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भनसुनको महत्त्व आफूले नदेखेको पटक-पटक दोहोर्‍याए।

पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरूले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए। तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

पूर्वगभर्नर नेपालले भने, ‘नेपाल राष्ट्र बैंकमा सोर्स लाग्दैन। त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो। त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिँदैन। क्षमतालाई आफैंले उजागर गर्ने हो। कोही पनि पर्फेक्ट हुँदैनन्। सबै पढेर तैँले त बढी जानेको छस् भन्ने हुँदै हुँदैन। आफैंले कोशिस गरेर आफैं जान्ने हुने हो। दिमागलाई जति प्रयोग गर्‍यो त्यति फाइदा हुन्छ।’

उनले नेपालले नेपालमा नपढ्नेहरूलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्कसमेत गरे।

उनले माध्यामिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरूको भविष्य आफूले नेपालमा राम्रो देखेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved