काठमाडौं। काठमाण्डौ महानगरपालिकाले आज शुक्रबारदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिँदैछ । सुन्धारामा रहेको महानगरको कार्यालय आजदेखि औपचारिक रुपमा काठमाण्डौ प्लाजामा सर्न लागेको हो ।
प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईलगायतका कार्यालय नयाँ भवनमा सारिएको छ । अहिले १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् ।
महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिने बताए । उनका अनुसार सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाण्डौ प्लाजामा सर्न लागेको हो ।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाण्डौ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच गएको चैत आठ गते सम्झौता भएको थियो । हरेक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता गरिएको हो ।
Facebook Comment
Comment