काठमाडौं। बैंकहरूले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकको निर्णयअनुसार १ वैशाखदेखि लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राख्ने निर्णय भएको छ ।
१ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाउँदै ९.९९ प्रतिशत कायम राख्ने निर्णय गरेका हुन् । यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा झार्ने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।
यस्तै, बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुने गरी ब्याजदर कायम गर्ने निर्णय भएको कोइरालाले जानकारी दिए । अहिले बचतमा बैंकहरूले ६ देखि ८ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।
राष्ट्र बैंकले अघिल्लो महिनामा एउटै वर्गका बैंकले बचत वा मुद्दती निक्षेपमा दिंदै आएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले निक्षेपको ब्याजदर घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ । सोही सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाएको बैंकर्स संघले जनाएको छ ।
यस्तै व्यक्तिगत मुद्दती निक्षेपमाभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा आएपनि राष्ट्र बैंकले साधारण बचत र मुद्दतीमा भन्दा रेमिट्यान्स खातामा न्युनतम १ प्रतिशत ब्याजदर बढी दिनुपर्ने व्यवस्था गरेकाले रेमिट्यान्स निक्षेपमा बैंकहरूले १०.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.४ प्रतिशत ब्याजदर दिनुपर्नेछ ।
Facebook Comment
Comment