काठमाडौं। नेपाली कथानक चलचित्र ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । वैशाख १ गते नयाँ वर्षको दिन प्रदर्शन गर्ने भनिएको चलचित्र सेन्सर भएको छैन।
अघिल्लो शुक्रबार पनि चलचित्र ‘प्रसाद-२’ लफडामा परेको थियो । आर्थिक लेनदेनको विवाद अदालतसम्म पुगेपछि प्रसाद-२ रिलिजको अघिल्लो दिन प्रदर्शन रोक्न अदालतको आदेश थियो। हाल उक्त चलचित्रको प्रदर्शन नरोक्न अर्को आदेश आएको छ। यद्यपि, रिलिजको समय अनिश्चित छ।
यसैगरी, ‘नाई नभन्नु ल ६’ को प्रदर्शन पनि पूर्वनिर्धारित मिति वैशाख १ गते रिलिज नहुने पक्का भएको छ। निर्माण पक्षले समयमै सेन्सर पास गर्न नसक्दा प्रदर्शन रोकिएको वितरक मनोज राठीको भनाइ छ। २०८० को सफल हुने चलचित्रमा यसलाई पनि राखिएको थियो।

तर, निर्माण पक्षले अहिले सेन्सरका कारण संकट आएको भए पनि यो चलचित्रलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ। फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि बोर्डले विवादका कारण सेन्सर सिफारिस नदिएको हो ।
‘प्रसाद–२’ को लफडा पनि यस्तै थियो। तर,प्रसाद २ लाई सेन्सरले प्रदर्शन अनुमति दिएपछि विवाद अदालत सम्म पुगेको थियो।
चलचित्र ‘नाई नभन्नु ल ६’ विकास आचार्य निर्देशित बहुप्रतिक्षित फिल्म हो। उनका यसअघिका सबै चलचित्र सफल भएका छन्। चलचित्रमा आँचल शर्मा, आशिर्वाद क्षेत्री र अनुभव रेग्मी लगायतको शीर्ष भूमिका रहेको छ ।
Facebook Comment
Comment