रास्वपा उम्मेदवार स्वर्णिमले किन बोले झुट ?

‘रामचन्द्र दाइलाई टिकट दिँदैमा गोविन्दलाई राष्ट्रिय सभामा लैजाने एग्रिमेन्ट थियो’

नेपालभ्युज

रास्वपा उम्मेदवार स्वर्णिमले किन बोले झुट ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ उपनिर्वाचनमा उम्मेदवार रहेका अर्थविद् डा. स्वर्णिम वाग्लेले आफूले छाडेको पूर्व पार्टी नेपाली कांग्रेस र तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका बारेमा भ्रमपूर्ण अभिव्यक्ति दिएको भिडिओ सार्वजनिक भएपछि कांग्रेस नेताकार्यकर्ता आक्रोशित भएका छन्।

उपनिर्वाचनको मत माग्न गाउँ पुगेका वाग्लेले कांग्रेस उम्मेदवार भट्टराईलाई पार्टीले राष्ट्रिय सभामा लैजाने तयारी पहिल्यै गरेको र अब पनि लैजानसक्ने भएकोले आफूलाई मत दिन आग्रह गरेका छन्।

चुनावी घरदैलोका क्रममा गाउँ पुग्दा उनलाई एक शुभचिन्तकले ‘म तरुण दल भानुको प्रवक्ता पनि हो, तपाईंको अन्तर्वार्ता धेरै हेरेको छु र तपाईंबाट प्रभावित पनि छु। तपाईं मनपर्ने मान्छे पनि हो, यो ठाउँमा गोविन्द दाइको धेरै लगानी छ सर, तपाईंलाई धन्यवाद मात्रै भन्न सकिन्छ।’

भिडिओमा त्यसको जवाफमा स्वर्णिमले भनेका छन्–‘तपाई‌ंलाई म एउटा कुरा भनौं ? उहाँ राष्ट्रिय सभामा जाँदै हुनुहुन्छ त्यो ग्यारेन्टी नै छ। उहाँलाई अन्याय हुँदैन। उहाँलाई न्याय गर्नुपर्छ।’

संवादमा ती कार्यकर्ताले कांग्रेस नेतृत्वसँग आफू पनि खुसी नभएको तर गोविन्द भट्टराईको लगानी ठूलो छ त्यसैले यसपटक उहाँको विकल्प कोही हुँदैन र उहाँलाई न्याय गर्नुपर्ने बताउँदै स्वर्णिमसँग कुरा गर्छन्।

जवाफमा स्वर्णिम फेरि भन्छन्–‘ठीक छ,तपाईंले भनेको बुझें तर,रामचन्द्र दाइलाई टिकट दिँदैमा उहाँ (गोविन्द भट्टराई)लाई राष्ट्रिय सभामा लैजाने भन्ने अग्रिमेन्ट थियो,उहाँलाई न्याय गर्नुपर्छ र त्यो हुन्छ पनि।’

त्यसपछि उनीहरूबीच मित्रतापूर्ण शुभकामना साटासाट पछि संवाद सकिन्छ र वाग्ले निस्केको देख्न सकिन्छ । यो भिडियो बाहिर आएपछि कांग्रेस तनहुँका नेताहरूले वाग्लेले रवि लामिछानेको जस्तै उट्पट्याङ र झुठो कुरा गर्न थालेको आरोप लगाएका छन्।

तनहुँ कांग्रेसका जिल्ला नेता भन्छन्–‘वाग्ले जी १२ वर्षसम्म कांगेसमा अवसर मात्रै लिएर बस्नुभयो। जब उहाँलाई मन्त्री हुने लोभ जाग्यो अनि टिकट चाहियो भन्नुभयो र नपाउने भएपछि पार्टी छाडेर पार्टीकै विरुद्ध भ्रामक कुरा गर्न थाल्नुभयो।’

अर्का कांग्रेस कार्यकर्ता राजन वाग्ले भन्छन्–‘स्वर्णिम वाग्लेलाई कांग्रेसले धेरै दियो तर उहाँले आफू कांग्रेस हुँ पनि भन्नुभएन। सधैं अर्थविद् र विज्ञ भन्नुभयो,कांग्रेसमा एकजना पनि सदस्य थप्नुभएन अनि राष्ट्रिय योजना आयोगमा हुँदा एउटा कार्यकर्ताको काम पनि गर्नुभएन। तर,अहिले कांग्रेसले उहाँलाई अन्याय होइन उहाँले कांग्रेसलाई चाहिँ धोका दिनुभयो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved