काठमाडौं। सत्ता गठबन्धनका १० दलमध्ये सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टीभित्रको गुटगत भागबण्डा मिलाउन नसक्दा मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन।
ठूलो दलको हैसियतमा ८ मन्त्रालय पाएको कांग्रेसले ४ जनालाई मात्रै मन्त्रीमण्डलमा सहभागी गराएको छ। ती सबै संस्थापन पक्षका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला पक्षको भागबण्डा नमिलेपछि शपथको केही घण्टाअघि मात्रै ४ मन्त्री शपथ लिनबाट वञ्चित भए।
संस्थापन पक्षलाई ६ र कोइराला पक्षलाई २ मन्त्रालय दिने सभापति देउवाको प्रस्तावमा कोइराला पक्षले असन्तुष्टि मात्रै जनाएन मन्त्रीको शपथग्रहण आफ्नो पक्षको मन्त्रीलाई रोक्दै कार्यक्रमसमेत बहिष्कार गर्यो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई ११ दलको समर्थन छ। तर, सरकारमा चाहिँ कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टी (नेसपा) मात्रै सहभागी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले सरकारलाई समर्थन गरेका छन्, तर सरकारमा सहभागी छैनन्। रास्वपा उपचुनावपछि सम्मानजनक सहभागिताको खोजीमा छ भने जनमत पार्टी मन्त्रिपरिषद् विस्तारकै दिन सरकारबाट बाहिरिएको छ।
यसैगरी, जनमोर्चाले सरकारमा नजाने स्पष्ट गरेको छ भने आजपाले सरकारमा सहभागी नगराइएको भन्दै दुःखेसो गरेको छ। जसका कारण अझै ६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै छ।
अझै रोचक कुरा त चैत १७ गते शुक्रबार दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरूका लागि शपथग्रहण गराउने शितलनिवासको तयारी थियो।
तर, शपथग्रहणको केही घण्टा अगाडि मात्रै कांग्रेसको कोइराला पक्षबाट मन्त्री बन्ने पक्का भएका उपसभापति धनराज गुरुङ समेतले शपथग्रहणमा नजाने बताए। जसका कारण कांग्रेसका तर्फबाट चारजना मन्त्री मात्रै शपथका लागि गए।
नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने आकांक्षीहरूको टुङ्गो लागे पनि शपथग्रहणमा कोइराला पक्ष सहभागी नभएपछि संस्थापनका पनि केही आकांक्षी मन्त्री बन्न बाट रोकिए।

भागबन्डामा ८ मन्त्रालय पाए पनि सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई चार जनाको नाम मात्रै सिफारिस गरे। देउवाले पेलेर जान नसक्ने अवस्था बुझेपछि कोइराला समूहले बैठक बसेर सम्मानजनक भाग नभए सरकारमा सहभागी नहुने अडान लियो। जुन अडानले अहिलेसम्म निकास दिन सकेन ।
कोइराला समूहले भागबन्डाका क्रममा कांग्रेसले पाएका ८ मध्ये ३ मन्त्रालय पाउनुलाई सम्मानजनक सहभागिता ठानेको छ। तर, सभापतिले उता ३ दिँदा आफैँ भित्रकालाई चित्त बुझाउन गाह्रो देखेर कोइराला पक्षलाई २ मन्त्रालय लिइदिन आग्रह गरे।
सभापतिको आग्रह अस्वीकार गरेको कोइराला समूह यतिबेला मन्त्रीमण्डलमा सहभागिता मात्रै होइन देउवासँग छलफल र भेटघाटमा समेत छैन।
चैत्र १७ पछि देउवा र कोइरालाबीच भेटघाट मात्रै नभएको होइन टेलिफोन संवाद पनि नभएको कांग्रेसका एक नेताको भनाइ छ।
कोइरालाको सचिवालयले पनि सभापतिसँग डा.शेखरको भेटघाट र कुराकानी नभएको दाबी गरेको छ। ‘उहाँहरूबीच मन्त्रीमण्डलका बारेमा भेटघाट र कुराकानी भएको छैन’ एक नेताले भने–‘उपनिर्वाचनको उम्मेदवारी दर्ताका कारण पनि नेताहरू व्यस्त रहेकाले पनि भेटघाट नभएको हुनसक्छ।’
हाल प्रधानमन्त्री प्रचण्ड मातहत कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी तथा सरसफाइ मन्त्रालय रहेका छन्।
तीमध्ये कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेका छन्। वन तथा वातावरण मन्त्रालय जसपाको भागमा छ।
खानेपानी तथा सरसफाइ मन्त्रालय जनमत पार्टीको भागमा परेको भए पनि सरकार विस्तारकै दिन मोहम्मद अब्दुल खानले मन्त्रीबाट राजीनामा दिएपछि त्यो पनि खाली छ।
कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त उपसभापति पूर्णबहादुर खड्का पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी छन्।
यसैगरी, अर्थमन्त्रीमा प्रवक्ता डा. प्रकाशशरण महत, सहरी विकास मन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल सहभागी छन्।
यसैबीच, कांग्रेसबाट मन्त्री भएका सबै नेता संस्थापन पक्षको भए पनि कांग्रेसभित्र कोइराला पक्षका भनिएका नेता कार्यकर्ता भने नवनियुक्त मन्त्रीहरूलाई बधाई दिन घरमै पुग्ने गरेका छन्।
आज मात्रै कांग्रेस संस्थापनइतर समूहका बागमती प्रदेश समितिका केही नेताहरू रक्षामन्त्री खड्का र अर्थमन्त्री डा. महतलाई बधाई दिन उनीहरूका घरमै पुगेका थिए ।
‘पार्टीमा केन्द्रीय तहमा गुट होला तर हामीलाई गुट भन्दा माथि पार्टी, विचार अनि लोकतन्त्र प्यारो छ। त्यसैले, प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूलाई बधाई दिन गएका हौं’ नेपाली कांग्रेस बागमती प्रदेश समिति सदस्य नानु दाहालले भनिन्–‘कांग्रेसको तर्फबाट सरकारमा सहभागी सबै नेतामा देश र जनताको पक्षमा काम गर्ने आँट र क्षमता छ।’
Facebook Comment
Comment