काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनुपर्ने बताएका छन्।
आइतबार बिहान अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा उनले यस्तो बताएका हुन्। महासंघको पदाधिकारी टोली र अर्थमन्त्री बीचको भेटमा अर्थतन्त्रको अवस्थाबारे पनि ब्रिफ्रिङ गरिएको थियो।
अर्थ मन्त्रालयमा भएको भेटमा अध्यक्ष शेखर गोल्छाले नवनियुक्तलाई सिंगो निजी क्षेत्रका तर्फबाट अर्थतन्त्रको अवस्थाबारे बताएका थिए । उनले अर्थतन्त्र सुधारका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव दिए।
सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन पनि अध्यक्ष गोल्छाले जोड दिए । सरकारी खर्च निकै सुस्त रहेको भन्दै अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न अर्थमन्त्रीसँग माग गरे।
सरकारसँग राजस्व कम उठेको र चालु खर्च धान्न मुस्किल परेको बारेमा उनले बाहिरी ऋण उठाएर भए पनि खर्च गर्नुपर्ने सुुझावसमेत दिए । बाहिरबाट लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्ने भन्दै अध्यक्षले राज्यसंयन्त्र पूर्णरूपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्याउने सुझाव पनि दिए।
सो भेटमा नवनियुक्त अर्थमन्त्री डा. महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको विस्वास दिलाए। उनले यसमा निजी क्षेत्रको पनि सुझाव र सहकार्यबाट अगाडि बढ्ने बताए ।
Facebook Comment
Comment