काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै, राहदानी र बैंकको सेवा खुलै रहने

नेपालभ्युज

काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै, राहदानी र बैंकको सेवा खुलै रहने

काठमाडौं।  काठमाडौं उपत्यकामा आज मंगलबार घोडेजात्रा मनाइँदैछ । घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकामा मनाइँदै आएको परम्परा हो।

परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा मनाइन्छ ।  यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नाका साथै जात्राले देशमा शुभमङ्गल ल्याउने विश्वास गरिन्छ। पाटनको एकल घोडेजात्रा लोकप्रिय जात्रा हो। 

वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरू जहाँ–जहाँसम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ। 

राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको समुपस्थितिमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा मङ्गलबार घोडेजात्रा कार्यक्रम गर्दैछ। त्यस अवसरमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा समारोहको आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने छ। 

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ। सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका  अध्यक्ष, मन्त्रीगणलगायत विशिष्ट महानुभावको सहभागिता हुनेछ। 

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका लागि १०, अश्वकलाका लागि ४६ र दौड विशेषका लागि १० वटा घोडा रहेको निर्देशनालयले जनाएको छ।

राहदानी र बैंककाे सेवा नरोकिने

राहदानी विभागले घोडेजात्राको बिदाका दिन मंगलबार पनि आफ्नो सेवा दिने भएको छ। सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २:३०  बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए ।

यस्तै, मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।

“घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ”, राष्ट्र बैंकले भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved