नेपाली रुपैयाँसँग भारु झन कमजोर, गाउँमा भारुको कारोबार हुनै छाड्यो

दार्चुलाका अधिकांश गाउँमा सामान जाने गोकुलेश्वरलगायत बजारमा भारु चलाउन मान्दैनन्। भारतमा रोजगारी गरेर घर फर्कनेका लागि पनि अहिले भारुबाट नेरु सटही चिन्ताको विषय हुन थालेको छ।

नेपालभ्युज

नेपाली रुपैयाँसँग भारु झन कमजोर, गाउँमा भारुको कारोबार हुनै छाड्यो

दार्चुला। दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे ।

शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोधे, “तपाईंसँग भारु छ कि नेरु?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किए ।

केही समय अघिसम्म सीमावर्ती बजारमा किनमेल र उपचारका लागि भारु साट्न कुनै समस्या थिएन। नेपालतर्फ पनि भारु देख्नेबित्तिकै सङ्कलन गरेर राख्ने चलन थियो। नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपथ्र्यो। तर अहिले ठीक उल्टो छ। बजारमा मात्रै होइन, गाउँमा पनि भारु नचल्ने अवस्था आएको लेकम गाउँपालिका–५ का व्यवसायी कृष्णदेव जोशीले बताए ।

पहिले भारतबाट सामान आउँथे र ती सामान किन्न भारुकै खोजी गरिन्थ्यो। अहिले अधिकांश सामान नेपालकै खरिद बिक्री भइरहेको छ। उनका अनुसार दार्चुलाका अधिकांश गाउँमा सामान जाने गोकुलेश्वरलगायत बजारमा भारु चलाउन मान्दैनन्। भारतमा रोजगारी गरेर घर फर्कनेका लागि पनि अहिले भारुबाट नेरु सटही चिन्ताको विषय हुन थालेको छ।

पहिले भारु पाउँदा कमिसन दिन तम्सिने व्यापारी नै अहिले नेरु साट्दा कमिसन माग्छन्। एक हजार भारुबराबर एक हजार रुपियाँमा साट्नुपर्ने अवस्था आएको खलङ्गाका एक व्यापारीले बताए।

भारतको उत्तराखण्ड पिथौरागढबाट नेपाल आउने भारतीयले पनि भारु सटहीमा समस्या भोग्नुपरेको गुनासो गरेका छन्। करिब दुई महिना पहिलेदेखि भारु कमजोर हुँदा स्थानीय सेवाग्राही र व्यवसायी पनि मारमा परेका छन्।

हाल आएर भारुको चलनचल्तीमै समस्या देखिन थालेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाले बताए । भारततर्फको कारोबार कम हुँदै गएको र भारु भित्रिनेक्रम यथावत् रहेकाले अहिले भारु कमजोर देखिएको उनले बताए ।

खलङ्गाका व्यवसायी मनोहर डाँगाले भने, “पछिल्लो समय उपचारदेखि किनमेल सबै स्वदेशी बजारमै हुने भएकाले भारुको माग कम हुँदै गएको छ।” उहाँका अनुसार विगतमा किनमेलदेखि उपचारका लागि भारुको माग धेरै थियो। अहिले त्यो छैन। भारु भित्रिनेक्रम यथावत् छ तर खर्च भइरहेको छैन। त्यही भएर कमजोर देखिएको हो। स्थानीय बजारमा व्यापार व्यवसाय बढेका कारण पनि भारु कमजोर भएको उनको भनाइ छ।

भारतबाट घुमफिर, किनमेल र उपचारका लागि आउनेले बोक्न सहज हुने भएकाले ठूला नोट लिएर आउँछन्। भारतबाट रोजगारी गरेर फर्कनेले पनि ठूलो मात्रामा पाँच सय दरका प्रतिबन्धित नोट ल्याएर फर्किन्छन्।

प्रतिबन्धित नोट धेरै भएका कारण पनि अहिले भारु कमजोर भएको व्यवसायी बताउँछन्। विगतमा भारुको सटही गर्दै आएका रमेश खत्रीका अनुसार भारु नोट बजारमा छ्यापछ्याप्ती छन्। भारु कमजोर हुँदा सीमावर्ती क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको छ।

भारतमा रोजगारी गर्दै आएका अधिकांशले भारतीय ठूला नोट बोकेर फर्कंदा नेपालमा चलाउनै समस्या भएको बताएका छन्। दार्चुलामा विदेशी मुद्राको सटही काउन्टरसमेत नभएका कारण सेवाग्राही समस्यामा परेका हुन्।

भारतीय बजारमा वर्षौंदेखि नेपाली मुद्राको अवमूल्यन हुँदै आएको थियो। अहिले नेपाली बजारमा समेत भारतीय मुद्राको अवमूल्यन बढ्दै गएको स्थानीय व्यापारीको भनाइ छ।   गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved