बागलुङ। गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृतावस्थामा फेला परेको थियो ।
मृतावस्थामा फेला परेकी गौतमको गहना लुटिएको देखेपछि लडेर नभई हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनिक गरेको छ ।
गलकोट नगरपालिका–९ चुँदारा टोल बस्ने ४३ वर्षीय इन्द्रबहादुर विकले पछाडिबाट चिउँडो र टाउकामा समाती मुन्टो बटारी हत्या गरेर गहरगहनासमेत लुटी भिरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले विकलाई आज सार्वजनिक गरेको जानकारी दिए । विकले अनुसन्धानका क्रममा आफूले हत्या गरेको स्वीकार गरेका छन् ।
आठ महिनामा ५० हिंसाका घटना
आठ महिनामा यहाँ ५० महिला हिंसाबाट पीडित भएका छन् । चालु आर्थिक वर्ष २०७९-८० को साउनदेखि हालसम्म ५० महिला हिंसासम्बन्धी निवेदन दर्ता भएकाअल्पकालीन महिला सेवा केन्द्र बागलुङले जनाएको छ ।
आफैँ सम्पर्कमा आएका २९ र जिल्ला प्रहरी कार्यालयमार्फत आएका २१ निवेदन दर्ता भएका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वती देवी रेग्मीले जानकारी दिइन् ।
पचासमध्ये २० घटना यौनजन्य दुर्व्यवहारसम्बन्धी, १० घरेलु हिंसा, ११ सम्बन्ध विच्छेद, पाँच आर्थिक हिंसा, एक बहुविवाह, एक हाडनाता करणी, एक अंशमुद्दा र एक बेवारिसे अवस्थासम्बन्धी मुद्दा रहेका रेग्मीले जानकारी दिइन् ।
उनका अनुसार दर्ता भएका मुद्दामध्ये १३ बागलुङ नगरपालिकाका, पाँच जैमिनीका, तीन गलकोटका, चार ढोरपाटनका, सात काठेखोलाका, दुई ताराखोला, पाँच बडीगाड, चार निसीखोलाका, एक तमानखोलाका र अन्य जिल्लाका छ मुद्दा रहेका छन् ।
सङ्ख्यात्मक रूपमा बागलुङ नगरपालिकामा धेरै उजुरी देखिए पनि अन्य पालिकामा समस्या भए पनि न्यायका लागि जिल्लासम्म नआएको नगरउपप्रमुख राजु खड्काले बताए । रासस
Facebook Comment
Comment