काठमाडौं । सुदूरपश्चिमको सरकारलाई माओवादीले विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिन पार्टीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दललाई निर्देशन दिएका हुन् ।
यसअघि प्रदेश कमिटीले केन्द्रबाट निर्देशन आएपछि मात्रै मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने बताएको थियो । प्रदेश सभा माओवादी संसदीय दलले केन्द्रबाट निर्देशन नआए विश्वासको मत नदिने निर्णय गरेको थियो ।
आइतबार बिहान प्रचण्डले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन गरेपछि सुदूरपश्चिम सरकारले विश्वासको मत पाउने भएको छ । एकीकृत समाजवादीले कांग्रेससँग सत्ता साझेदारी गरिसकेको छ भने नागरिक उन्मुक्तिले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री शाहले अहिले केहीबेरमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभा बैठक दिउँसो १ बजेका आह्वान गरिएको छ । यसअघि गठित एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा सरकार गठन भएको थियो।
विश्वासका मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका ८ दलमध्ये सुदूरपश्चिममा कांग्रेसका १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।
Facebook Comment
Comment