धनगढीमा चर्को ब्याजदरविरुद्ध उद्योग व्यवसायी चरणबद्ध आन्दोलनमा

नेपालभ्युज

धनगढीमा चर्को ब्याजदरविरुद्ध उद्योग व्यवसायी चरणबद्ध आन्दोलनमा

धनगढी। सुदूरपश्चिमका उद्योग व्यवसायी चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । उद्योग व्यवसायीले सरकारसँग पटक-पटक चर्को ब्याजदर घटाउन माग गर्दै सुनुवाइ नभएको भन्दै उनीहरू हिजोदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबारदेखि प्रदेशका सबै जिल्लामा एकै प्रकारको चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका थिए । सोहीअनुसार आज पनि बिहान धनगढीमा पसल बन्द गराउँदै चौराहदेखि पार्कमोडसम्म विरोध  र्‍याली निकालेका थिए ।

बिहान ११ बजेसम्म बजार बन्द गर्ने, २० गतेसम्म बैंकमा बचत नगर्नेलगायत विभिन्न आन्दोलन कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्षराज कुँवरले बताए । आफूहरू विगत २ महिनादेखि बैंकको चर्को ब्याजदरविरुद्ध आवाज उठाउँदै आएको बताए । पाँच दिनसम्म हुने आन्दोलनमा प्रदेशमा सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको ऐक्यबद्धता छ ।

सरकारले व्यवसायीलाई सडक आन्दोलन गर्न बाध्य बनाएको कैलाली जिल्ला होटल व्यवसायी संघका अध्यक्ष कलम बमले बताए । ‘सरकारले हामीलाई आन्दोलन गर्न बाध्य बनाएको छ,’ उनले भने, ’कोरोनाले थला परेको व्यवसाय लयमा फर्किँनै लाग्दा बैंक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजदरले हामी आतङ्कित भएका छौँ ।’

कैलाली उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि बैंकको ब्याजदरविरुद्ध आन्दोलन थालेको हो । बैंकहरूले दोब्बर ब्याज बढाएर बैंकिङ आतंक मचाएको व्यवासायीको आरोप छ । बैंकहरूले कायम गरेको चर्को ब्याज व्यवसायीको मात्रै समस्या नभएर यसले सम्पूर्ण उपभोक्तालाई महँगीको मारमा पारेको कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले बताए ।

बैंकहरूले कालोबजारी गरिरहेको सुदूरपश्चिमका उद्योगी व्यवसायीको आरोप छ । राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्ग दर्शन खारेज हुनुपर्ने व्यवसायीले माग गर्दै आएका छन् । राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्नुपर्ने माग देशभर उठेको छ ।

व्यवसायीले अघि सारेका मागप्रति कुनै सुनुवाइ नभए चैत १ गतेबाट कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले दिए ।

‘२० गतेसम्म दबाबमूलक कार्यक्रम गर्ने भएका छौँ, माग सुनुवाइ नभए फागुन १ गतेबाट कडा आन्दोलन गर्छौँ,’ उनले भने, ’कडा आन्दोलनमा देशभरबाट ऐक्यबद्धता मिल्ने वातावरण बन्न थालेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved