सरकारले ‘हिंसा दिवस’ लाई राष्ट्रिय दिवस भनेर बुद्धको अपमान गर्‍यो – ओली

नेपालभ्युज

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा सुरु भएको दिनलाई हिंसा दिवसको रूपमा सार्वजनिक बिदासहित मनाउनु दुःखद भएको बताएका छन् ।

पूर्वराजदूत एवं एमाले नेता हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘विश्वशान्ति प्रार्थना’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष ओलीले सत्ता साझेदार दल माओवादी केन्द्रको नाम नलिइकनै हिंसात्मक राजनीति गर्ने दल भनेर विरोध गरे । सरकारले हिंसा दिवस मनाएर बुद्धको अपमान गरिएको समेत उनको भनाइ थियो ।

बुद्धको जन्मथलो र शान्तिप्रिय देश भनेर चिनिएको भूमिमा केही वर्ष हिंसा भयो र त्यो हिंसालाई सरकारले नै ‘हिंसा दिवश’ भनेर मनाउन थाल्यो भन्दै ओलीले किन हिंसा दिवश मनाइयो भन्नेबारे आफू अनविज्ञ रहेको बताए । ‘आफैंले छाडेको हिंसा फेरि किन सम्झिनुपरेको हो ?’ उनले भने–‘हिंसा गर्ने र त्यसैलाई राष्ट्रिय दिवस भनेर मनाउनु दुःखद् हो।’

सरकारले फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाएको र आगामी वर्षदेखि वार्षिक क्यालेन्डरमै बिदा दिने निर्णय गरेको प्रति संकेत गर्दै ओलीले त्यस किसिमको हिंसालाई महत्त्व दिन नहुने बताए ।

‘सरकारले आकस्मिक रूपमा किन त्यसो गर्‍यो मैले बुझ्न सकेको छैन’ ओलीले भने–‘सरकारले नै हिंसालाई महत्त्व दिइरहेको कुराले शान्तिभूमि नेपालको अस्तित्वलाई हिंसाको देश भनेर चिनाउन खोजेको जस्तो लागिरहेको छ।’

अध्यक्ष ओलीले हिंसामा रहेको देशले नयाँ संविधान जारी गरेर हिंसा माथिको एउटा विजय हासिल गरिसकेको भन्दै बुद्धको अहिंसा र शान्तिको खोजीलाई नै हामीले मनन गर्नुपर्ने बताए । एक-अर्काको ज्यान लिने खालको शारीरिक द्वन्द्व अब देशमा आवश्यक नभएको भन्दै उनले
पहिचान र राजनीतिको नाममा भूगोल,जाती र आस्थाका बीचमा घृणा फैलाउने र द्वन्द्वमा लैजाने प्रवृत्तिको सबैले विरोध गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved