आफ्नो सरकार पाँच वर्ष नै चल्ने सुपका मुख्यमन्त्री शाहको दाबी

नेपालभ्युज

आफ्नो सरकार पाँच वर्ष नै चल्ने सुपका मुख्यमन्त्री शाहको दाबी

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू नेतृत्वको प्रदेश सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

सोमबार विहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसँगको भेटमा मुख्यमन्त्री शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताए ।

प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहे पनि आफ्नो सरकार पूर्ण कार्यकाल चल्ने उनले दाबी गरे । त्यसका लागि सबै दलसँग छलफल भइरहेको उनले बताए ।

विश्वासको मतका लागि सबै दलसँग सकारात्मक छलफल भैरहेको भन्दै मुख्यमन्त्री शाहले मध्यावधि निर्वाचनमा गए जनताले लखेट्ने समेत बताए ।  निर्वाचन सम्पन भएको धेरै समय नभएकाले जनताले पनि सरकार पाँच वर्ष नै चलोस भन्ने चाहेको उनले बताए ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल (नेपाली कांग्रेस)को संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्री बनेका थिए । संविधानअनुसार शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार टिकाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर मुख्यमन्त्रीसँग अहिले २३ सांसद मात्रै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved