सत्ता गठबन्धन धरमराउन थालेपछि लुम्बिनी सरकारमा आजदेखि जसपा पनि सामेल 

नेपालभ्युज

सत्ता गठबन्धन धरमराउन थालेपछि लुम्बिनी सरकारमा आजदेखि जसपा पनि सामेल 
फाइल तस्वीर

काठमाडौं। लुम्बिनी आजदेखि प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) को पनि सहभागिता हुने भएको छ।

जसपाका संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री बनाउन लागिएको छ। आज सोमबार उनलाई उक्त मन्त्रालयको शपथ गराउने कार्यक्रम छ।

सत्तारूढ दलमध्ये हालसम्म लुम्बिनी प्रदेशमा जसपा र नागरिक उन्मुक्ति पार्टीको मन्त्रालयमा भागबन्डा थिएन।

मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी आइतबार जसपाका अहिरलाई तोकिसकेका छन्। अहिर बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका हुन्।

मन्त्रीका रूपमा अहिरको शपथ ग्रहण कार्यक्रम सोमबार बिहान ११ बजे हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए। मुख्य मन्त्रीका प्रेस सल्लाहकार टीकाबहादुर बस्नेतले पनि शपथको सबै तयारी पूरा भइसकेको बताए।

यसअघि नेकपा एमालेका तुलसीराम शर्मालाई यो मन्त्रालयको जिम्मेवारी तोकिएको थियो। एमालेले पाएको मन्त्रालय काटेर भागबन्डा मिलाउन जसपाका अहिरलाई मन्त्री बनाउन लागिएको हो। भागबन्डा मिलाउन यसअघिका एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई एमालेबाट मुख्यमन्त्री बनेका गिरीको कार्यालयमै व्यवस्थापन गर्न थालिएको छ।

लुम्बिनीको सत्ता गठबन्धन धरमराउन थालेपछि एमालेका मन्त्रीलाई बिना विभागीय बनाएर जसपालाई मन्त्री दिन लागिएको बताइएकाे छ। लुम्बिनी मन्त्रिपरिषद्मा यसअघि एमालेले मुख्यमन्त्रीसहित पाँच जनालाई मन्त्रिमण्डलमा सामेल गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved