धनगढी। धनगढीस्थित शिव शिखर सहकारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलित भएका छन् । जम्मा गरेको रकम झिक्न नपाएका बचतकर्ताहरू सहकारी नै अनिश्चित समयका लागी बन्द भएपछि आन्दोलनमा उत्रेका हुन् । उनीहरूले धनगढीमा सहकारीविरुद्ध प्रदर्शन गर्दै राज्यकहाँ रकम असुल गरिदिन माग गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ की राजेश्वरी चन्द शिव शिखर सहकारी संस्थामा महिनैपिच्छे रकम जम्मा गर्ने गर्दथिन् । चाहेको समयमा रकम निकाल्न पाइने र ब्याज बढी पाइन थालेपछि उनले निक्षेप बचत गर्न थालिन् । चन्दले दैनिक कारोबारसँगै शिव शिखर सहकारीमा करिब १० लाख बराबरको निक्षेप खाता खोली रकम जमा गरेकी थिइन् ।

चन्दले आफू मात्रै नभएर आफन्त तथा छर छिमेकीहरूलाई पनि शिव शिखर सहकारीमा बचत गर्न आग्रह गरिन् । उनको आग्रहलाई स्विकार्दै आफन्तहरूले पनि निक्षेप खातामा रकम जम्मा गरेका थिए ।
सबैको ५० लाख बढी रकम सहकारीमा जम्मा छ । तर, सहकारीले रकम अभाव भएको भन्दै कार्यालय नै अनिश्चितकालका लागि बन्द गरेपछि उनी बचत गरेको सम्पत्ति डुब्यो कि भनेर चिन्तामा छिन् । त्यस्तै, धनगढी उप महानगरपालिका वडा नम्बर १ कि विनिता बुढाले छोरी ज्वाइँको दैनिक मजदूरीबाट कमाइ भएको रकम पनि शिव शिखर सहकारीमा जमा गर्न थालिन् ।

मजदुरी गरेर दैनिक गुजारा चलाउने छोरी ज्वाइँको भविष्यका लागि भन्दै कमाएको साढे १ लाख रकम उनले शिव शिखर सहकारीमा जम्मा गरिन् । तर, निकाल्न जाँदा सूचना टाँस गर्दै सहकारीको कार्यालय नै बन्द भएपछि वर्षौंको कमाइ खेर गएको भन्दै उनी चिन्तित छिन् ।
उनीसँगै धनगढी उप महानगरपालिका वडा नम्बर ५ की अहिल्या चन्द पनि किराना पसलको व्यवसाय गर्दै बचेको रकम शिव शिखर सहकारीमा जमा गर्न थालिन् । १ वर्ष अघिदेखि सहकारीमा जमा गर्दै आएकी अहिल्याको बचत करिब साढे २ लाख पुगेको थियो । छोराको बिमाबाट आएको रकम र अर्को बैंकमा जम्मा गरेको रकमसहित सहकारीमा जम्मा गरेकी चन्द सहकारीको कार्यालय नै बन्द भएपछि बिचल्लीमा छन् । छोरा-छोरीको स्कुल फिसदेखि उधारो लिएको रकम तिर्नसमेत उनलाई अहिले मुस्किल छ ।

यी मात्रै होइनन् शिव शिखर सहकारीमा बचत गरेका सयौँ बचतकर्ताहरू अहिले मारमा परेका छन् । बचतकर्ताहरूले आफ्नो रकमनै नपाइने देखेपछि आन्दोलन थालेका छन् ।
सहकारीले जमा गरेको रकम दिन छोडेर उल्टै अनिश्चितकालका लागि कार्यालय बन्द गरेको भन्दै उनीहरू आन्दोलनमा छन् । उनीहरूले आफ्नो रकम फिर्ता नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रमहरू तय गरेका हुन् ।

करिब ५ सय जना बचतकर्ताहरूको हस्ताक्षरसहित आन्दोलनमा उत्रेका बचतकर्ताहरूले सरकारलाई रकम असुुल गरिदिन आग्रह गरेका छन् । यता, सहकारीले भने सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको छ ।
सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रबन्धक हेमराज जोशीले एकैपटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताएका छन् । उनले रकम फिर्ता गर्नेतर्फ सहकारी केन्द्रित भएको बताएका छन् ।
Facebook Comment
Comment