नेपाल भ्यूज । चिनियाँ बैज्ञानिक हे जियान कुईले सन् २०१८ मा दुई बच्चाको जैविक जिन सम्पादन गरेको दाबी गरेका थिए– उनको यो घोषणाले विश्व आश्चर्यचकित भएको थियो । उनलाई अनधिकृत स्वास्थ्य प्रविधि अभ्यास गर्ने विवादास्पद बैज्ञानिकका रुपमा हेरिएको थियो ।
मानव बच्चाको जैविक जीन संशोधन गर्नु कानुनी, नैतिक र मानवीय दृष्टिकोणले उचित हो कि हैन भन्ने बहस उठेको थियो । यो बहसपछि वैज्ञानिक कुईलाई चीन सरकारले नियन्त्रणमा लिएको थियो र उनलाई ३ बर्षको जेल सजाय भएको थियो ।
विश्व स्वास्थ्य संगठनले वैज्ञानिक हे जियान कुईको यस्तो प्रयासलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेको थियो । संगठनकी एक अधिकारी मार्गेट अन्ना हम्बर्गले भनेकी थिए–‘यो कुरालाई त्यति सजिलो र खेलाँचीका रुपमा लिन हुँदैन । यसलाई धरै वृहत्त परिदृष्यबाट हेर्न पर्छ । जीन परिवर्तनले डिएनए र मानव जातिको चरित्र र भबिष्यमा पर्न सक्ने प्रभावलाई समेत ध्यान दिनु पर्दछ ।’
विश्व स्वास्थ्य संगठनको चिन्ता थियो–‘अनधिकृत जीन सम्पादनले बच्चाको भबिष्यमा कस्तो असर पर्छ, भबिष्यमा स्वास्थ्यका दृष्टिकोणले उनीहरु कमजोर हुन्छन कि हुँदैनन, त्यो महत्वपूर्ण कुरा हो ।’
गत शुक्रबार तिनै विवादास्पद वैज्ञानिक हे जियान कुईले साउथ चाइना मोर्निङसँग कुराकानी गरेका छन् । मंगलबार छापिएको कुराकानीमा उनले आजसम्म तीन जना बच्चाको जैविक जीन संशोधन गरेको स्वीकार गरेका छन । ती मध्ये दुई जुम्ल्याहा बालिका र एक बालिका रहेको उनको दाबी छ ।
ती बच्चाको नाम उनले क्रमश लुलु, नाना र अमी भएको बताए । साथै ती बच्चाहरु आफ्ना अभिभावकसँग आनन्दले हुर्किरहेको समेत दाबी गरे । तर, तिनीहरुलाई सार्वजनिक जीवनमा ल्याउँन भने अस्वीकार गरे ।
त्यसबारे उनले भनेका छन्–‘उनीहरुलाई सार्वजनिक गर्न नसकिने हैन, तर, त्यसो गर्दा उनीहरुको व्यक्तिगत जीवनमा असहजता आउन सक्दछ ।’
कुराकानीमा उनले भनेका छन्–‘उनीहरुको जिन्दगी शान्त, सामान्य र अवरोधरहित छ । उनीहरुको चाहना पनि त्यही छ र त्यसको हामीले सम्मान गर्नु पर्दछ । उनीहरुलाई वैज्ञानिक अनुसन्धानका लागि उपयोग गर्ने मात्र हैन, उनीहरुको व्यक्तिगत जीवन अधिकारलाई बेवास्ता गर्न मिल्दैन। पहिलो कुरा ती बच्चा र उसको परिवारको खुशी हो ।’
कुनै वैज्ञानिकले यसरी मानव बच्चाको जीन सम्पादन गरेको दाबी गरेको यो विश्वकै पहिलो घटना हो । जीन सम्पादन गर्नु स्वास्थ्य चिकित्सा नैतिकता र कानुनले अनुमति नदिएको बिषय हो ।
वैज्ञानिक हेले अगाडि भनेका छन्–‘मलाई ती बच्चाको भबिष्यको त्यति नै चिन्ता छ, जति एउटा पितालाई आफ्ना सन्तानको भबिष्यको हुन्छ । मैले उनीहरु १८ बर्षको हुन्जेल मात्र रेखदेख गर्ने हो, त्यसपछि उनीहरुको निजी जीवन शुरु हुन्छ ।’
उनले बच्चाको ‘सीआरआईएपिआर’ प्रविधि प्रयोग गरी ‘सीएएस–९’ को साटो शरिरमा ‘सीसीआर–५’ जीन प्रतिस्थापन गरेका थिए । वैज्ञानिक हेको दाबी छ कि ‘सीसीआर–५’ ले मान्छेलाई एचआईभी प्रतिरोध गर्ने क्षमता दिन्छ ।
तर, अरु कतिपय अनुसन्धानकर्ताले उनको यो दाबीलाई अप्रमाणित भनेका छन् । सन् २०१९ मा प्रकाशित एमआइटी टेक्नोलोजी रिभ्युको एक प्रतिवेदन अनुसार ‘जीन सम्पादनले नयाँ म्युटेसन अवश्यक बन्छ तर त्यसले एचआइभी प्रतिरोध गर्ने शक्ति प्रदान गर्छ भन्न सकिन्न ।’
गैरकानुनी चिकित्सा प्रविधि अभ्यास गरेको आरोपमा ३ बर्षको सजाय पाएका उनी सन् २०२२ को अप्रिलमा जेलबाट बाहिर आएका थिए ।
कुराकानीमा उनले भनेका छन्–‘यी ४ बर्षमा मैले धेरै कुरा सिके । मैले निजी स्वार्थका लागि यो काम गरेको हैन । यो वैज्ञानिक अनुसन्धानको एक पाटो हो, जो भबिष्यमा मानव जातिका लागि काम लाग्न सक्दछ । समय आएपछि म मेरो अवधारणाबारे लामो लेख लेख्ने छु र विश्वका वैज्ञानिक समुदायलाई यसको महत्वबारे आश्वस्त पार्ने छु ।’
हालै अक्सफोर्ड विश्वविद्यालयबाट उनलाई ‘सीआरआईएपिआर जीन सम्पादन प्रविधि’ बारे प्रस्तुति गर्न निमन्त्रणा प्राप्त भएको छ । आउँदो महिना उनी त्यहाँ जाने तयारीमा छन् ।
भबिष्यमा उनी बेइजिङमा जेनेटिक रोगको अनुसन्धान गर्ने नाफारहित एक प्रतिष्ठान बनाउँन चाहन्छन् । उनी भन्छन्–‘ अभिभावकको जीनबाट सरेर आउने अनुवाँशिक रोगबाट मान्छेलाई कसरी बचाउँन सकिन्छ भन्ने मेरो अनुसन्धानको मुख्य क्षेत्र हो । मेरो विश्वास छ कि चीन र विश्वभरिका सरकारले यसको महत्व विस्तारै बुझ्नेछन ।’
३८ बर्षीय वैज्ञानिक हे सेन्जेनस्थित साउद युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वायोफिजिक्स विषयका प्राध्यापक हुन । सन् २०१२ मा उनले अमेरिकाको राइस विश्वविद्यालयबाट ‘प्रोटिन इभोलुसन’ ‘सीआरआईएपिआर जीन सम्पादन प्रविधि’ मा पिएडी गरेका थिए ।
सन् २०१९ मा टाइम्स पत्रिकाले उनलाई विश्वका १०० सर्वाधिक प्रभावशाली व्यक्ति सूचीकृत गरेको थियो ।
Facebook Comment
Comment