अमेरिकी विदेशमन्त्रीलाई चीनले स्वागत गर्ने

नेपालभ्युज

अमेरिकी विदेशमन्त्रीलाई चीनले स्वागत गर्ने

बेइजिङ । चीनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गतेदेखि हुन लागेको दुईदिने भ्रमणको स्वागत गर्दै भ्रमाणको व्यवस्थापनका निम्ति अमेरिकी पक्षसँग सम्पर्कमा रहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ विनबेनले नियमित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्रीको भ्रमणबारे सार्वजनिक भएका विवरणको पुष्टि गर्दै उनले आफ्ना चिनियाँ समकक्षी छिन कङसँग भेटवार्ता गर्ने जानकारी दिए । पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षलाई लाभ हुने सिद्धान्तका आधारमा अमेरिकासँग सम्बन्ध बनाउन चीनले चाहेको उनले बताए ।

अमेरिकाले चीनका बारेमा सही धारणा बनाउने, द्वन्द्वको सट्टा वार्ता र संवादको माध्यम अपनाउने तथा एक पक्षलाई मात्र लाभ हुने नभई दुवै पक्षलाई हित हुने विषयलाई ध्यान दिने प्रवक्ता वाङले बताए । दुवै देशका राष्ट्रप्रमुखबीच भएका साझा समझदारीलाई पूर्णरूपमा कार्यान्वयन गर्न तथा चीन–अमेरिका सम्बन्धलाई सुदृढ एवम् गतिशील तुल्याउन अमेरिकाले चीनसँग सहकार्य गर्ने विश्वास उनले व्यक्त गरे ।

यसअघि अमेरिकी समाचारपत्र पोलिटिकोले विदेशमन्त्री ब्लिन्केनको भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको आणविक हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकमा केन्द्रित हुने जनाएको थियो ।

विदेशमन्त्री ब्लिन्केनको बेइजिङ भ्रमण गत नोभेम्बरमा इन्डोनेसियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भेटवार्ता, त्यस क्रममा भएका समझदारीको कार्यान्वयनका निम्ति थप छलफल गर्ने नियमित एवम् निरन्तर कूटनीतिक अभ्यास हो । यो भ्रमणबाट तनावमा गुज्रिरहेको अमेरिका–चीन सम्बन्धलाई थप फलदायी बनाउन मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved