कार्यदलले उच्चस्तरीय संयन्त्रलाई आज मस्यौदा बुझाउने

सरकारको न्यूनतम साझा कार्यक्रम लेखन कार्यदलले उच्चस्तरीय संयन्त्रलाई आज मस्यौदा बुझाउँदैछ। शुक्रबार बस्ने बैठकबाट सबै टुङ्गो लगाएर शीर्ष नेतृत्वलाई बुझाउन लागेको हो।

नेपालभ्युज

कार्यदलले उच्चस्तरीय संयन्त्रलाई आज मस्यौदा बुझाउने

काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम लेखन कार्यदलले उच्चस्तरीय संयन्त्रलाई आज मस्यौदा बुझाउँदैछ। शुक्रबार बस्ने बैठकबाट सबै टुङ्गो लगाएर शीर्ष नेतृत्वलाई बुझाउन लागेको हो।

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार बस्ने बैठकबाट मस्यौदालाई अन्तिम रूप दिने बताए। उनले भने ‘‘मस्यौदा तयारीको क्रममा छ। शुक्रबार बस्ने बैठकबाट सबै टुङ्गो लगाएर शीर्ष नेतृत्वलाई बुझाउँछौँ।’’ कार्यदलको बैठक अहिले बसिरहेको छ ।

मस्यौदालाई बिहीबारै टुङ्ग्याउने तयारी थियो। तर माओवादीका तर्फबाट कार्यदलमा रहेका उपमहासचिव वर्षमान पुन अनुपस्थित थिए। सोही कारण शुक्रबार अन्तिम रूप दिएर उच्चस्तरीय राजनीतिक संयन्त्रमा बुझाउने सहमति कार्यदलमा भएको छ ।
कार्यदलले पहिलो चरणमा सबै दलबाट सुझाव संकलन गरेको थियो। सत्तासाझेदार दलहरूबीच सहमति भएका न्यूनतम कार्यक्रम मात्र मस्यौदामा समेटिएका छन्।

नागरिकको प्रत्यक्ष सरोकार रहेका सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाएर सुशासनको प्रत्याभूति दिलाउने, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने, अर्थतन्त्रको सुधार गर्दै जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर सम्बोधन गर्दै अघि बढ्नेजस्ता विषयमा मस्यौदा केन्द्रित छ।

कार्यदलले उच्चस्तरीय संयन्त्रलाई पेश गरेपछि शीर्षस्थ नेताहरू बसेर अन्तिम रूप दिनेछन् । कार्यदलमा (एमाले) उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved