सुर्खेत। सामाजिक सञ्जालमा निकै भाइरल भएको बाघ सुर्खेत शहीद पार्कको हो । वीरेन्द्रनगर–४ भैरव सामुदायिक वनमा रहेको पार्कमा राखिएको बाघको स्वरूप नमिलेको भन्दै सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
शहीद पार्कमा निर्माण गरिएको बाघको प्रतिमा पर्यटकलाई आकर्षित गर्न बनाइएको हो । सामाजिक सञ्जालमा भाइरल भएको बाघलाई मर्मत गर्न उत्तानो पारिएको हो ।
स्वरूप नमिलेकाले कालीगढ ल्याउने र बाघको जस्तै आकार निकालिने भैरव सामुदायिक वनका अध्यक्ष अम्मर कार्कीले बताए ।

‘त्यो एउटै ढुङ्गाले बनेको छ । केही आकार मिलेको छैन् ।’ उनले भने,‘आकार मिलाएर पुनः राखिनेछ ।’ ५० हजार लागतमा बाघको प्रतिमा बनेको अध्यक्ष कार्कीले बताए ।
बाघको मूर्ति वीरेन्द्रनगरकै कृष्णकुमार श्रेष्ठले जिम्मा लिएका हुन् । उनले बाहिरबाट कालीगढ ल्याएर बाघको मूर्ति बनाएका थिए । ‘कालीगढले हतार–हतारमा बनाउँदा केही स्वरूप नमिलेको हो ,’ श्रेष्ठले भने,‘त्यो बाघको स्वरूप केही दिनमा मिलाएर राखिने छ ।’

Facebook Comment
Comment