कर्णाली र सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

आजको रात सबैभन्दा लामो हुने जनविश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउढा खेल्ने र कथा हालेर रात काट्ने चलन रहेको छ।

नेपालभ्युज

कर्णाली र सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

सुर्खेत। आज पुस पन्ध्र गते। कर्णाली र सुदूरपश्चिम प्रदेशमा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा परापूर्वकालदेखि नै ‘पुसे पन्ध्र’ पर्व मनाइँदै चलन रहेको छ।

आजको रात सबैभन्दा लामो हुने जनविश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउढा खेल्ने र कथा हालेर रात काट्ने चलन रहेको छ।

कर्णाली प्रदेशको कालिकोट, जुम्ला, मुगु, सुदूरपश्चिमको बाजुरा, अछाम, डोटी र बाजुरा जिल्लामा आजको रातमा भैली खेल्ने, आगो बाल्ने, कथा हाल्ने र विभिन्न परिकारका रोटी पकाएर खाएर ‘पुसे पन्ध्र’ पर्व मनाउने चलन रहेको कालिकोट खाडाँचक्र नगरपालिका–२ पञ्चदेवल माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए।

‘रातभर विभिन्न कार्यक्रम गरेर बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ’ उनले भने, ‘रातभरी कथा, कहानी सुनाउने चामलको मोटो रोटी हाल्ने, कतै कतै भैली खेल्ने चलन रहेको छ।’

आजको रातमा रातमा भैली खेलेर खाद्यान्न जम्मा गर्ने र त्यही खाद्यान्नबाट भोलीपल्ट वनभोज(पाटेभात) खाने विगतमा चलन रहेको कालिकोट नरहरिनाथ गाउँपालिका ९० वर्षीय भैरबहादुर शाहीले जानकारी दिए।

‘आज १५ किसिमका परिकारहरू खाने चलन रहेको छ’ उनले भने, ‘चामल र मास मिसाएर रोटी बनाएर खाने चलन रहेको छ। त्योसँगै आजको राती भैली खेलेर भोलीपल्ट वनभोज खाने चलन रहेको छ।’

ठाउँ अनुसार फरक–फरक तरिकाले ‘पुसे पन्ध्र’ मनाउने गरिएको कालिकोट रास्कोट नगरपालिका उपप्रमुख तथा पूर्व बडिमालिमा माध्यमिक विद्यालयका प्रधानाध्यापक मनीराज बरालले जानकारी दिए। ‘ठाउँ अनुसार फरक फरक तरिकाले यो पर्व मनाउँछन्’ उनले भने, ‘कतै रातभर जाग्राम बसेर, कतै भैली खेलेर, कतै खानेकुरा कुरा पकाएर बस्ने चलन रहेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved