कसले पाउला शीतल निवासको चाबी ?

प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड आयो। सोही अनुसार नयाँ सत्तागठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एमालेबाट राष्ट्रपति को बन्ला भन्ने चासो देखिएको हो।

नेपालभ्युज

कसले पाउला शीतल निवासको चाबी ?

काठमाडौं। ‘प्रचण्ड प्रधानमन्त्री बने, अब राष्ट्रपति को बन्लान् ?’ नयाँ सरकार गठनभएलगतै धेरैको चासो अब राष्ट्रपतिमा छ।

चुनावपछि सबैको चासो रहेको प्रधानमन्त्री पदमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आसीन भइसके। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्।

प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड आयो। सोही अनुसार नयाँ सत्तागठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एमालेबाट राष्ट्रपति बन्ने सहमति छ।

गठबन्धनको सहमतिअनुसार राष्ट्रपति र सभामुख (पहिलो आधा कार्यकाल) एमालेको भागमा परेपछि को बन्ला भन्ने चासो देखिएको हो।

संविधानअनुसार दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन। अघिल्लो पटक राष्ट्रपतिमा दुई पटक दोहोरिएकी विद्या भण्डारी पुन तेहोरिन सम्भव छैन।

यसकारण पनि एमालेभित्र भावी राष्ट्रपति र सभामुखका आकांक्षीबारे चर्चा देखिन्छ। अघिल्लो कांग्रेस नेतृत्वको सत्तागठबन्धनमा केही पूर्वन्यायधिशलाई राष्ट्रपति बनाउने चर्चा थियो।

चुनावी तालमेलसमेत गरेका सत्ताधारी गठबन्धनभित्र प्रधानमन्त्री राष्ट्रपति र उपराष्ट्रपति एवं सभामुख र उपसभामुख तथा मुख्यमन्त्रीसम्मको ‘भागबन्डा’बारे कुरा नमिलेपछि नयाँ गठबन्धन बनेको हो। यससँगै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने च्याप्टर क्लोज भएको छ।

नयाँ गठबन्धनले वर्तमान राष्ट्रपतिको पदावधि आगामी फागुन अन्त्यमा सकिनुभन्दा अघि नै आफ्ना उम्मेदवारको टुङ्गो लगाउने छ। गठबन्धनका दलहरुबीच पावर शेयरिङ भएअनुसार एमाले पाएको भावी राष्ट्रपतिको आकांक्षीबारे चर्चा सुरु भएको छ।

राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङको नाम अन्य नेताको भन्दा बढी चर्चामा छ । उनी संविधानसभा अध्यक्ष, दुई पटक सभामुखसहित तीनपटक संसद् र संविधानसभाको नेतृत्व लिइसकेका व्यक्ति हुन्। नेम्वाङ अघिल्लो पटक पनि राष्ट्रपतिकै लागि चर्चामा थिए । तर विद्या भण्डारीलाई नै दोहोर्‍याइयो।

पार्टी विधानको उमेरहदले उनको पार्टी र सरकारमा कार्यकारी भूमिकाको सम्भावना कम छ। पार्टी नेतृत्वमा रहन ७० वर्ष नकाटेको हुनुपर्ने विधान एमालेको अघिल्लो महाधिवेशनले पारित गरेको छ। यसकारण नेम्वाङले राष्ट्रपतिमा रुचि राखेका अरू नेताहरू बताउँछन्।

एक नेताले भने ‘‘उहाँ संसदीय मामिला र कानुनका अनुभवी हुनुहुन्छ। संविधान निर्माणमा भूमिका खेल्नुभयो। यसैले उहाँ योग्य व्यक्ति हुनुहुन्छ।’’

नेम्वाङसँगै संसदीय राजनीतिबाट अवकाशकै घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि राष्ट्रपतिको दाबेदारका रूपमा हेरिएको छ । यो निर्वाचनमा उनले आफूले पाएको सांसदको टिकट त्यागेकी थिइन्। बाग्मती प्रदेशको मुख्यमन्त्री भइसकेकी उनी पटकपटक संघीय मन्त्री पनि भइसकेकी छिन्।

त्यागी महिलाको रूपमा रहेकी शाक्यलाई राष्ट्रपति बनाएर फेरि पनि एमालेले महिला आन्दोलनलाई सम्मान गरेको सन्देश दिनुपर्ने पार्टी भित्र मत छ।

यता एमाले उपाध्यक्ष युवराज ज्ञवालीलाई पनि आकाङ्क्षीको रूपमा हेरिएको छ। एमाले विभाजनको बेलामा मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका उनको छवि कार्यकर्ता र जनतातसम्म राम्रो छ। तर, शाक्य र ज्ञवाली दुवैले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

राष्ट्रपति हुन योग्यता

संविधानको धारा ६४ मा नेपालको राष्ट्रपति हुन योग्य व्यक्तिको मापदण्ड तय भएको छ। उक्त धाराअनुसार सङ्घीय संसद्को सदस्य हुन योग्य भएको व्यक्ति राष्ट्रपति हुन सक्छन्।

यद्यपि थप योग्यतामा पैँतालिस वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ।

कुनै कानुनले अयोग्य ठहर नगरेको व्यक्ति मात्र नेपालको राष्ट्रपति हुनसक्छ। यद्यपि योग्यता पुगे पनि नेपालको संविधानअनुसार दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन।

यसरी हुन्छ राष्ट्रपतिको निर्वाचन

राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था संविधानको धारा ६२ मा गरिएको छ। जसमा सभामुख चयन गरिएजस्तो भने हुनेछैन। राष्ट्रपति चयनको लागि प्रदेश सांसद र प्रतिनिधिसभा सांसदले भोट हाल्नेछन्।

धारा ६२ मा गरिएको व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ। संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुन अनुसार फरक हुने व्यवस्था संविधानमा छ।

संविधानको उक्त धाराको उपधारा २ मा कुनै प्रदेशसभाको निर्वाचन हुन नसकेको अवस्थामा पनि राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डल गठनमा बाधा नहुने व्यवस्था गरिएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा सङ्घीय संसद्मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल सङ्घीय संसद्तर्फको मतभार हुनेछ।

त्यस्तै प्रदेशसभाका कुल सदस्य सङ्ख्याले पनि नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गरेर आउने भागफल नै प्रदेशसभातर्फको मतभार हुनेछ।

कानुनी व्यवस्था अनुसार सङ्घीय संसद्का सदस्य भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैलाई जनाउँछ भने प्रदेशसभाका सदस्य भन्नाले सातवटै प्रदेशसभाका सदस्यहरू जनाउँछ।

सङ्घीय संसद्तर्फ प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी कुल ३३४ सदस्य हुन्छन् भने सातवटा प्रदेशसभामा गरी कुल ५५० सदस्य हुन्छन्।

संविधान अनुसार सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ।

यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्छन्।

दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा जसले कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved