धनगढी । सामान्यतया: एउटा पुल बन्न १ वर्ष पनि लाग्दैन । तर कैलालीमा एउटा पुल निर्माण सुरू भएको ११ वर्षसम्म पनि पूरा भएको छैन । यसले नेपालमा पूर्वाधार निर्माणको अवस्था कस्तो छ भनेर स्पष्ट पार्छ ।
हुलाकी सडकअन्तर्गत भजनी नगरपालिकाको ३ र ५ नम्बर वडा जोड्ने कान्द्रा नदीमाथिको पुल बनाउन सुरू गरिएको ११ वर्ष भयो । तर अहिले पनि निर्माणकै चरणमा छ ।
अर्को दु:खलाग्दो कुरा त पुल नहुँदा स्थानीय बासिन्दा दैनिक रकम तिरेर नदी पार गर्न बाध्य छन् । पुल नबनेका कारण धनगढी-भजनी-सत्तीसम्म सवारी साधन सञ्चालनमा समस्या छ । लामो समयसम्म पुल नबन्दा स्थानीय आक्रोशित छन् भने काठेपुल बाट नदी तर्दा पैसा तिनुपर्ने बाध्यता छ ।

साढे २ वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी हुलाकी सडक आयोजनाबाट २०६८ सालको जेठमा ठेक्का सम्झौता भएको थियो । लामा, साल्पा शेर्पा र विरूवा जेभीसँग संयुक्तरूपमा सम्झौता भयो । तर ठकेदारको लापरवाही, डिजाइनमा भएको बिलम्बजस्ता कारणले निर्माण पूरा हुन पाएको छैन ।
पुलमा बन्नुपर्ने चार स्ल्याब ध्ये अहिले पनि ३ वटाकाको मात्रै काम पूरा भएको छ । पटक-पटक म्याद थपिए पनि पुल निर्माणको काम भने सकिएको छैन ।
नदीमा पुल नहुँदा खेतीपातीका लागि वारपार गर्नुपर्ने स्थानीय र विधार्थीलाई स्कूल आउन जान धेरै समस्या छ । भजनी–३ की दुर्गादेवी साउदले खेतीपाती वारिपारी हुनेलाई वर्षाका तीन महिना निकै समस्या हुने गरेको बताइन् ।
‘विधार्थीलाई स्कुल आउन समस्या छ, पुलका लागि बनाइएको ड्यामले नदी बन्द भएर बाढी आउने गरेको छ,’ उनले भनिन्, ‘हिउँदमा पनि नदी वारपार गर्दा पैसा तिनुपर्छ, हाम्रो यो समस्या कसले बुझ्ने ?
आयोजनाकाअनुसार हुलाकी राजमार्गअन्तर्गत बाँकी सबै पुल बनिसकेका छन् तर कान्द्रा नदीमा पुल नहुँदा धनगढी-भजनी-सत्तीसम्म सवारी साधन सञ्चालनमा समस्या भएको छ ।
कान्द्रा नदीमा पुल नहुँदा भजनी नगरपालिकाका र आसपासको गाउँका बासिन्दाले वर्षामा जोखिम मोलेर डुङ्गामार्फत नदी ओहोरदोहोर गर्ने गरेका छन् ।

भजनी नगरपालिका ५ का महेन्द्रराज जैशी दुध व्यापारी हुन् । उनी गाउँमा किसानको दूध खरिद गरेर विक्रीका लागि भजनीसम्म पुग्छन् । नदीमा पुल नभएकाले उनले डुङ्गा चलाउने ठेकेदारलाई पैसा तिर्नुपर्छ ।
‘अन्त बाटो छैन । नआउँ भने व्यवसाय चल्दैन, तर्नैपर्छ । समस्या छ किसानलाई, दैनिक २० देखि ३० रुपैयाँ भाडा तिर्नुपर्छ,’ उनले भनेका छन् ।
औषधि उपचारका लागि, डिजेल-पेट्रोल किन्न, मलखाद किन्न पनि बर्षादमा डुङ्गा र हिउँदमा काठेपुललाई पैसा तिरेरै आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर साउदले बताए । उनले भने, ‘बर्खाका पाँच महिना डुङ्गा र हिउँदका सात महिना अस्थायी काठे पुल तर्न ठेकेदारलाई पैसा तिर्नुपर्छ ।’
भजनी नगरपालिकाले डुङ्गा र काठेपुलका लागि व्यक्तिलाई ठेक्का दिएको छ । ठेकेदारले त्यसबाट वर्षेनी लाखौं उठाउँछ र नगरपालिकाले पनि केही पाउँछ । स्थानीय सरकार गठन भएको पाँचौं वर्ष लाग्दा पनि पुल बनेको छैन र ठेक्काचाहिँ भइरहेको छ ।
यो वर्ष पुल बन्ने आयोजनाको दाबी
पुल ११ वर्षसम्म पनि नबनेपछि हुलाकी राजमार्ग आयोजनाको कार्यालयले अन्तिम पटक भन्दै यही चैतभित्र काम सक्न निर्देशन दिएको छ । २०६८ जेठ २१ गते उक्त पुलको ठेक्का भएको थियो ।
यो पुलमा अहिले साल्पा–शेर्पा (हाल परिवर्तित नाम हिमाली जेभी) ले काम गर्दै आएको छ । कम्पनीले काम नगर्दा पाँच चोटीसम्म म्याद थप भइसकेको छ ।
ठेक्का भएपछि पहिलो निर्माण अवधि ३० महिना रहेको थियो । तर, डिजाइन परिवर्तन गर्नुपर्ने कारणले साढे चार वर्षसम्म काम भएन । २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरू भयो ।
साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो । चौथो पटकको म्याद २०७७ फागुनसम्म थपिएको थियो । त्यसपछि अन्तिम पटक भन्दै यो वर्ष चैत मसान्तभित्र काम सक्न भन्दै म्याद थपिएको छ ।
हुलाकी सडक आयोजना कार्यालय कैलालीका इन्जिनियर पिपक सुनारले यस पटक काम पूरा हुने र सबैलाई सहज हुने दाबी गरे । सुरूमा ठेक्का पाएका दुई कम्पनीले काम छोडिसकेका छन् ।
कालोसूचीमा पनि परेका लामा र साल्पा शेर्पा निर्माण कम्पनीले यो पुलको काम छोडेका हुन् । विरूवा निर्माण कम्पनीले भने आफ्नो इज्जत राख्न भए पनि काम जारी राखेको छ । तर उसले पनि चैत महिनाभित्र काम सक्नेमा भने शंका देखिन्छ ।
Facebook Comment
Comment