विराटनगर । निर्वाचन आयोगले प्रदेश नं. १ मा गत मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम शनिवार (आज) बुझाउँदै छ । दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुझाउने कार्यक्रम रहेको छ ।
प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।
निर्वाचनको अन्तिम परिणामसँगै प्रदेश प्रमुखले राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान हुनेछ । त्यहाँ कुनै पनि दलको बहुमत आएको छैन । यसो हुँदा राजनीतिक दलहरूले आन्तरिकरूपमा छलफललाई अगाडिसमेत बढाएका छन् मिलीजुली सरकार गठनका लागि ।
९३ सदस्यीय प्रदेशसभामा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ सांसद रहेका छन् ।
सरकार गठनका लागि ४७ सांसद आवश्यक रहने छ । सत्तारुढ गठबन्धनमा अहिले ४६ सांसद छन् । गठबन्धनलाई एक सांसद अपुग रहेको छ । एमालेका ४० सांसद छन् । राप्रपा र जसपाले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेका छैनन् । यस्तो अवस्थामा उनीहरू निर्णायक बन्ने देखिन्छ ।
सत्तारुढ गठबन्धनलाई जसपाले समर्थन गरे सरकार गठनका लागि आवश्यक संख्या पुग्छ । संसद्को ठूलो दल एमालेलाई राप्रपा र जसपाले समर्थन गरे सरकार गठनका लागि आवस्यक संख्या पुग्छ ।
Facebook Comment
Comment