काठमाडौं । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपबारे अमेरिकाको प्रतिक्रिया आएको छ । ह्वाइटहाउसले दिएको जानकारी अनुसार झगडा पछि भारत र चीन दुबै तुरुन्त पछि हटेकोमा बाइडेन प्रशासन खुशी छ।
पत्रकार सम्मेलनमा ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले अमेरिकाले स्थितिलाई नजिकबाट नियालिरहेको र दुवै पक्षले सीमा विवादबारे छलफल गर्न द्विपक्षीय च्यानलहरू प्रयोग गर्नुपर्ने बताएका एनडीटीभीले जनाएको छ । “हामीलाई खुशी छ कि झडप पछि दुबै पक्ष तुरुन्तै पछि हटे। हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं र भारत र चीनलाई सीमा विवादमा छलफल गर्न विद्यमान द्विपक्षीय च्यानलहरू प्रयोग गर्न प्रोत्साहित गर्दछौं,” उनले भनेका छन्।
अरुणाचल प्रदेशको तवाङ सेक्टरमा शुक्रबार भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा दुवै पक्षका सैनिक सामान्य घाइते भएका छन् । झडपमा भारततर्फ ठूलो क्षति भएको भारतीय सेनाको उच्च स्रोतले बताएपनि भारतीय सञ्चारमाध्यमले भने घाइते भएका चिनियाँ सैनिकको सङ्ख्या भारतीय सैनिकभन्दा धेरै भएको दाबी गरेका छन् । रक्षा मन्त्री राजनाथ सिंहले पनि संसदमा भारतीय सेनाले चिनियाँ सेनालाई लखेटेको बताएका छन् ।
भारतीय सेनाका जवानहरूले बहादुरीका साथ चिनियाँ सेनालाई अरुणाचलको तवाङ क्षेत्रको याङ्त्से सेक्टरमा वास्तविक नियन्त्रण रेखा (एलएसी) को उल्लङ्घन गर्नबाट रोकेका उनको भनाई छ ।
रक्षामन्त्रीले मंगलबार संसदमा भने, “हाम्रा कोही पनि सैनिक शहीद भएका छैनन्, कोही गम्भीर घाइते भएका छैनन् भन्न चाहन्छु। हाम्रो सेनाले देशको भौगोलिक अखण्डताको रक्षा गर्न सक्छ भन्ने पनि सदनलाई आश्वस्त गर्दछु।” भारतीय सेना कुनै पनि अतिक्रमणको सामना गर्न तयार रहेको भन्दै उनले सशस्त्र बलको बहादुरी र साहसलाई प्रसंशा गर्नुपर्ने बताएका छन् ।
Facebook Comment
Comment