जनकपुरधाम। मधेसी आयोगले थारू र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने भएको छ। मसिंर २० गते बसेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष विजयकुमार दत्तले बताए।
मधेसी आयोगको उक्त निर्णय कार्यन्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन्।
२०७८/०७९ को वार्षिक प्रतिवेदनमार्फत् मधेसी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारू र मुस्लिमसहित १४९ जातलाई मधेसीको रूपमा सिफारिस गरेको थियो।
तर, थारू र मुस्लिम समुदायका विभिन्न संघ-संगठनले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भएकोले आफूहरूलाई मधेसी क्लस्टरमा नराख्न मधेसी आयोगमा उजुरी दिएका थिए। आयोगका अध्यक्ष दत्तका अनुसार उक्त उजुरीमाथि आयोगले निर्णय लिँदै थारू र मुस्लिमलाई मधेसीबाट हटाउने भएको हो।
Facebook Comment
Comment